नवनियुक्त अर्थमन्त्री शर्माले गरे कोरोना खोपका लागि ५ अर्ब निकासा

नवनियुक्त अर्थमन्त्री शर्माले गरे कोरोना खोपका लागि ५ अर्ब निकासा

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेका छन्।

आज (बुधबार) अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री शर्माले पहिलो निर्णयका रूपमा कोरोना खोपका लागि रकम निकासाको निर्णय गरेका हुन्। सोही क्रममा सरकार कोरोना महामारीमा जनताको जीवनरक्षामा केन्द्रित रहने उनले बताए।

उनले स्वास्थ्यकर्मीको जोखिमभत्ताका लागि रकम स्वीकृति सदरसमेत गरे। सरकारले कोराना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने भने पनि लामो समयदेखि रकम निकासा हुन सकिरहेको थिएन।  

मन्त्रिपरिषदको हिजो (मंगलबार) बसेको पहिलो बैठकले आगामी चैतभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरिसकेको छ।