कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु

कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा आफन्तकै कुटपिटबाट एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० का ४२ वर्षीय बिरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिट गरी हत्या गरिएको आशंकामा मृतकका २२ वर्षीय भान्जा गिरधारी लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शिद्धराज न्यौपानेका अनुसार मृतक बिरराम र उनका भान्जाबीच सामान्य विवाद हुँदा भान्जाले कुटपिट गरेका थिए।

कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि महाकाली अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी न्यौपानेले बताए। उनले थप अनुसन्धान भइरहेको बताए।