नेपाललाई भेट्न प्रचण्ड र विप्लव कोटेश्वरमा, समसामयिक विषयमा छलफल

नेपाललाई भेट्न प्रचण्ड र विप्लव कोटेश्वरमा, समसामयिक विषयमा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज बिहीवार भेटवार्ता भएको छ । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेता नेपालको निवास कोटेश्वर जानुभएको हो ।  भेटमा अहिलेको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवासित पनि भेटघाट गर्ने तयारी रहेको नेता बाँस्तोलाले बताउनुभयो । एमालेभित्र अन्तर–द्वन्द्व बढिरहेकै बेला अहिले भइरहेको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ । हिजो विप्लवले प्रचण्डलाई उहाँकै निवास खुमलटारमा पुगेर भेट्नुभएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि एमालेभित्र फेरि विवाद बढेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालकै कारण पछिल्लो स्थिति सिर्जना भएकाले उहाँलाई एमालेमा कुनै ठाउँ नभएको टिप्पणी गर्नुभएको छ भने नेपाल पनि ओलीसँग एकताको पक्षमा हुनु हुन्न ।