कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

कैलालीमा पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो

भजनी । टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थालेको धेरै भएको छैन। छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उनलाई निकै चिन्ता हुन्थ्यो। उनको त्यो चिन्ता धेरै दिन रहेन।

नयाँ बिहानी पढाइ शिविरमा छोरालाई पढाउन पठाएपछि छोरामा आएको परिवर्तनले उनी आफैँ चकित छिन्। “छोराले पहिले पढाइमा त्यति रुचि राख्दैनथ्यो। उसको पढाइ अन्य शिशुका तुलनामा कमजोर थियो”, उनले भनिन् , “आजभोलि आफैँ लेख्न र पढ्न जान्ने भएको छ। उसमा आएको  परिवर्तन देख्दा म आफैँ चकित छु। ” उनले छोरालाई पढाइ शिविरमा यति सजिलै सिक्न र पढ्न थाल्छ भन्ने नसोचेको बताइन्। 

बाल कल्याण सङ्घ र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत कैलाली जिल्लाका छ हजार १२० बालबालिका परियोजनामा जोडिएका छन्। परियोजनाले पढाइ शिविर, रुपान्तरण कक्षासँगै स्वास्थ्य शिक्षा र जीविकोपार्जनमा बालबालिकालाई सहयोग गर्दै आएको छ।

टीकापुरमा २० पढाइ शिविर र भजनी नगरपालिकामा २५ पढाइ शिविर सञ्चालनमा छन्। ती शिविरमा एक हजार ९२ बालबालिका आबद्ध छन्। परियोजनाका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले ती बालबालिकाका अतिविपन्न परिवारका रहेकोे जानकारी दिए।

“बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले समुदायमा पढाइ शिविर सञ्चालन गरेका थियौँ। पढाइ शिविर धेरै प्रभावकारी बन्न पुग्यो”, उनले भने, “अहिले विद्यालय बन्द रहेका अवस्थामा पनि सहजकर्ताले घर–घरमा पुगेर पुस्तक वितरण गर्ने, बालबालिकाको अवस्था बुझ्ने, स्वास्थ्य सामग्री दिने काम गर्दै आउनुभएको छ।”

घोडाघोडी नगरपालिका–११ की सपना चौधरीले गत पुस महिनामा किशोरकिशोरीलाई लक्ष्य गरी गरिएको रुपान्तरण कक्षाबारे १० दिने तालिम लिने अवसर पाइन्। सो अवसरमा उनले लैङ्गिक असमानता, किशोरकिशोरीका समस्या, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवनोपयोगी सीप र बचत तथा ऋणका बारेमा राम्रोसँग बुझ्ने मौका पाइन्। 

“तालिमले मलाई सक्षम बनाएको छ। आत्मविश्वास बढाएको छ”, उनले भनिन्, “अहिले किशोरीमा भइरहेका विभेदका घटना, युवा सशक्तीकरण र सामुदायिक सहभागितामा प्रत्यक्ष सहभागिता जनाउन सक्छौँ र त्यसको आफ्ना कुरा राख्न सक्ने भएका छौँ।” अहिले उनले आफ्नो समुदायमा रुपान्तरण कक्षा सञ्चालन गर्दै आएकी छिन्। समुदायका अन्य किशोरकिशोरीलाई पनि रुपान्तरणका लागि उनले सक्रियताका साथ काम गर्दै आएकी छिन्। 

टीकापुर, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको १४ वडामा २८ ठाउँमा सञ्चालन गरिएको रुपान्तरण कक्षामा ४३० युवायुवती सहभागी छन्। उनीहरुले रुपान्तरण कक्षामा सिकेका कुरालाई समुदायका अन्य युवायुवतीलाई समेत सिकाउँदै आएका छन्।