मङ्गलसेन नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १८ योजना सम्पन्न

मङ्गलसेन नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १८ योजना सम्पन्न

अछाम । अछामको मङ्गलसेन नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा १८ वटा योजना सम्पन्न भएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सम्पन्न भएका १८ वटा योजनाबाट नगरका विभिन्न वडाका २ सय ५९ गरिब तथा लक्षित वर्गले रोजगारी पाएका छन् । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारहरूको जीवन स्तर उकास्नका लागि रोजगार कार्यक्रम सञ्चालन गरिएको थियो ।

मङ्गलसेन नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १ करोड ५७ लाख १७ हजार रुपैयाँ विनियोजन भएको थियो । कुल बजेटको १ करोड २८ लाख ९९ हजार ६ सय ६७ रुपैयाँ रोजगार कार्यक्रममार्फत खर्च गरिएको नगरपालिकाले जनाएको छ ।

१ करोड ५७ लाख १७ हजार कुल रकम मध्ये नगरपालिकाले २८ लाख १७ हजार ३ सय ३३ रुपैयाँ खर्च गर्न बाँकी रहेको मङ्गलसेन नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक लक्ष्मण शाही बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिका भित्र रहेका वडामा खानेपानी मर्मत, सिँचाई कुलो मर्मत, विद्यालय घेरा बार, रिङ रोड मर्मत, खेल मैदान निमार्ण, ग्रामीण सडक मर्मत लगायतका क्षेत्रमा रकम खर्च गरिएको संयोजक शाहीले बताउनुभयो ।