जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

अमरगढी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । राजमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो ।

ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडकका बिच– बिचमा ठुला–ठुला धान रोप्नेजस्ता हिलाम्य खाल्डाका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र ऐरीले बताउनुभयो । राजमार्गका हगुल्टे, साहुखर्क र भत्काँडा क्षेत्रमा सडकका बिचबिचमा हिलाम्य हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम गर्ने समस्या भएकाले तीव्र गतिमा काम नभएको बताउनुभयो । आगामी आवको असोजसम्म सडक मोड सुधार कार्यक्रम सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।

पटक–पटकको वर्षाले सडकमा माटो पानी मिसिएकाले कालोपत्रे उप्किएर राजमार्गका बिच–बिचमा खाल्डाखुल्डी परेका छन् । साँघुरोलगायत कारण वर्षाले माथिबाट माटो झर्दा हिलाम्य हँुुदै बिच सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् । साबिकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यस राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ ।

अत्यधिक वर्षाले सडकको ४० प्रतिशत काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ । अहिले सडकको अवस्था जीर्ण हुँदा तथा वर्षायाममा एक महिना राजमार्ग हिलाम्य हुने र सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम रहेको चालकको भनाइ छ ।