प्रभावकारी भएनन् सुदूरपश्चिम विश्वविद्यालयले लिएका अनलाइन परीक्षा, शिक्षकसम्म उत्तर पुस्तिका पुर्‍याउनै हम्मे-हम्मे !

प्रभावकारी भएनन् सुदूरपश्चिम विश्वविद्यालयले लिएका अनलाइन परीक्षा, शिक्षकसम्म उत्तर पुस्तिका पुर्‍याउनै हम्मे-हम्मे !

कञ्चनपुर | कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय क्याम्पस अन्तर्गत स्नातक तह  ( बिबिए र बीबीएस ) को प्रथम सेमेस्टरको मध्य सत्रको परीक्षा सम्पन्न भएको  छ । कोरोना भाइरसको प्रभावका कारण सुदूरपश्चिम  विश्व विद्यालयले  अनलाइन माध्यमबाट माइक्रोसफ्ट टीम्सको प्रयोग गरी गएको महिना असार २८  गते देखी सञ्चालन गरेको बिबिए र बीबीएसको प्रथम सेमेस्टरको मध्य सत्रको  परीक्षा आज शुक्रवार  सम्पन्न भएको हो ।

यसैबिच सुदूरपश्चिम विश्व विद्यालयमा बिबिए र बीबीएसको प्रथम सेमेस्टरमा  अध्ययन गरिरहेका  कतिपय  विद्यार्थीहरूले  अनलाइन परीक्षा खासै प्रभावकारी नभएको  गुनासो गरेका छन् ,  भने  कतिपय विद्यार्थीहरूले  प्राविधिक कारणवश  उत्तर पुस्तिकाहरू शिक्षकसम्म पुर्‍याउन समेत  हम्मे हम्मे परेको बताएका छन् ।

यसै गरी यस पटक पहिलो पल्ट अनलाइन परीक्षा दिएको अनुभव सुनाउँदै सुदूरपश्चिम  विश्व विद्यालयमा हाल बिबिए प्रथम सेमेस्टरमा अध्ययनरत छात्रा निलम भट्टले कोरोनाको प्रभावका कारण शिक्षा क्षेत्रमा एक किसिमले  भूकम्प नै  आएको    बताउनुभएको छ । विगतमा भौतिक उपस्थितिमा परीक्षा भएका बेला परीक्षा निरीक्षकहरूको सहभागिता रहने गरेकाले परीक्षा प्रभावकारी हुने  गरेकोले विद्यार्थीको क्षमताको उचित मुल्याङकन हुने गरेको तर अहिले भने अनलाइन परीक्षाका कारण विद्यार्थीहरूले परीक्षामा सोधिएका प्रश्नहरूको जवाफ सजिलै गुगलबाट खोजेर  लेख्न सक्ने र    अरूको नक्कल गर्न पाइने भएकाले अनलाइन परीक्षा प्रभावकारी नभएको र यसले विद्यार्थीहरूको सही मूल्याङ्कन गर्न नसक्ने  विद्यार्थी भट्टको भनाई  छ ।

सुदूरपश्चिम विश्व विद्यालयमा अध्ययनरत छात्राहरू कमला साउद र सन्जु शर्माले भने सुदूरपश्चिम  विश्व विद्यालयले कोरोना महामारीका बेला अनलाइन परीक्षा लिनु बाहेक अरू विकल्प नभएकाले यसरी मध्य सत्रको परीक्षा अनलाइन बाट लिने निर्णय गरेर ठिकै गरेको   बताएका छन् ।

यस्तै  सुदूरपश्चिम विश्व  विद्यालयमा  बिबिए प्रथम सेमेस्टरको  मध्य सत्रको परीक्षा दिनुभएका आकृति जोशी र  बीबीएस प्रथम सेमेस्टरको मध्य सत्रको परीक्षा दिनुभएका  कुसुम भट्टले   पहिलो पटकको अनलाइन परीक्षाको अनुभव भएकाले  यसलाई रमाइलै  अनुभवका रूपमा लिएको  बताउनुभयो  ।

सुदूरपश्चिम विश्व विद्यालयका अन्य कतिपय विद्यार्थीहरूले  भने  अनलाइन कक्षा र अनलाइन परीक्षा प्रभावकारी नभइरहेकाले स्वास्थ्य  सुरक्षाका मापदण्ड अपनाएर  अब भौतिक उपस्थितिमा कक्षा  सञ्चालन गर्न  पहल गरिनु पर्ने बताएका छन्   । तर कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयद्वारा जारी पछिल्लो पटकको  निषेधाज्ञाको आदेश अनुसार भने  यही साउन ७ गतेसम्म विद्यालय तथा शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठनका क्रियाकलाप सञ्चालन गर्न  नपाइने भनिएको छ  ।