माधव नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा डेढ घण्टा छलफल

माधव नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा डेढ घण्टा छलफल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेपाल निवास कोटेश्वरमा छलफल भएको छ । पाँच दलीय गठबन्धन जोगाउने विषयमा दुई नेताबीच छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

एमालेको विघटित कार्यदलका सदस्यहरुबीच आज विहान भएको अनौपचारिक छलफल पछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच करिब डेढ घण्टा छलफल भएको थियो । दिउँसो १ः३० बजेबाट शुरुभएको भेटघाट पौने तीन बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

केही दिन यता नेता नेपाल पाँच दलीय गठबन्धन बैठकमा सहभागी नहुनु भएपछि अध्यक्ष प्रचण्ड उहाँसँग परामर्श गर्न कोटेश्वर निवास पुग्नुभएको बताइएको छ । पाँच दलीय गठबन्धनको यसअघिको बैठकमा नेता नेपालले आफ्नो तर्फबाट डा। विजय पौडेललाई प्रतिनिधिकोरुपमा पठाउनुभएको थियो ।

विघटित कार्यदलका सदस्यहरुले गरेको १० बुँदे सहमतिमा असहमति जनाउनुभएका नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने उहाँ निकट नेताहरुले बताइसक्नुभएको छ । साउन २९ गते अघि नै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेता नेपाल पक्षले विश्वासको मत नदिएमा प्रधानमन्त्री देउवालाई बहुमत नपुग्ने भएपछि उहाँलाई मनाउन गठबन्धन दलका नेताहरु सक्रिय रहनुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री देउवा असार ३० गते नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । सो भेटमा पनि उहाँले नेता नेपाललाई धन्यवाद व्यक्त गर्नुहुँदै विश्वासको मतका लागि आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले नेता नेपाल पक्षलाई सरकारमा सहभागी हुन पनि आग्रह गर्दैआउनुभएको छ ।