कोरोना संक्रमित ६८ दिनपछि अस्पतालबाट डिस्चार्ज, पुर्नःजन्म पाएको भन्दै स्वास्थ्यकर्मीलाई सम्मान

कोरोना संक्रमित ६८ दिनपछि अस्पतालबाट डिस्चार्ज, पुर्नःजन्म पाएको भन्दै स्वास्थ्यकर्मीलाई सम्मान

दार्चुला । स्वास्थ्यमा समस्या देखिएपछि लेकम गाउँपालिका–५ मैखोलीका इन्द्रदेव जोशी अस्पताल भर्ना भए । वैशाख २९ गते जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका जोशीको स्वास्थ्य चेकजाँच गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भयो । कोरोना देखिएपछि उपचाररत रहेका जोशीलाई अब त बाँचिन्न जस्तो लागेको थियो ।

एकातिर स्वास्थ्य अवस्था गम्भीर थियो, त्यसैमा देशभरी नै अक्सिजन अभाव भइरहेको खबर सुनिन्थे । गम्भीर अवस्थाबाट गुज्रिरहेका जोशीको उपचारमा अस्पतालले कुनै कसर बाँकी राखेन । उनको भेन्टिलेटर, एचडियुमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यकर्मीहरु जोखिम मोलेरै उपचारमा खटिए । परिणामस्वरुप उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भयो । जोशी सोमबार ६८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आफ्नो पुर्नःजन्मका भएको भन्दै जोशीले उपचार प्रक्रियामा सहभागी भएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई सम्मानस्वरुप आइतबार खादाले सम्मानित गरे ।

उनले अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरि अस्पताल परिवारलाई खादा तथा टिका लगाइ सम्मान गरेका हुन् । अस्पतालको सेवा भावबाट प्रभावित भएर सम्मानित गरेको उनले बताए । ‘अस्पतालका चिकित्सकहरुको सेवा भावले मैले आज पुर्नःजन्म प्राप्त गरेँ, उहाँहरुलाई म हृदयदेखि नै सम्झन र सम्मान गर्न चाहन्छु, जोशीले भने । ’

कोरोनाका कारण गम्भीर विरामी रहेका जोशी निको भएपछि दुई महिनाभन्दा बढी समयपछि सोमबार डिस्चार्ज गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । दुःख र अप्ठ्यारोमा अस्पताल र चिकित्सकलाई सम्झिएपनि निको भएपछि कसैले खासै वास्ता नगर्ने अवस्थामा जोशीले अस्पतालमै आफूहरुलाई सम्मान गरेकोमा गौरब महशुस भएको अस्पतालका प्रमुख डाक्टर आदर्श लिम्बुले बताए ।

‘पहिलो पटक यसरी प्राप्त सम्मानले समग्र अस्पतालको टिमलाई नै थप हौसला र उत्साह मिलेको छ ।’ डाक्टर लिम्बुले भने । कोरोनाको दोस्रो भेरियन्ट आएदेखि जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका संक्रमित ७३ जना डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ । २ जना अहिले उपचाररत छन् ।