बैतडी । बैतडीमा गत असार १८ गतेदेखि पारिश्रमिकको माग गर्दै अनसन बसेका लेन्थवर्करहरुले बुधबार अनसन तोडेका छन्। सरोकारवालाहरुले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि तत्कालका लागि आफूहरुले अनसन स्थगित गरेको एक लेन्थवर्कर जयराम भुलले बताए।
पाटन–पञ्चेश्वर सडकमा काम गर्दै आएका लेन्थवर्करहरुले २१ महिनादेखि पारिश्रमिक पाएका छैनन्। पारिश्रमिक पाउनुपर्ने भन्दै सो सडकमा काम गर्ने १२ जना लेन्थवर्करहरु अनसनमा बसिरहेका थिए।
लेन्थवर्करहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले लेन्थवर्करहरुसंग वार्ता गरेपछि उनीहरुले अनसन तोडेका समितिका सदस्य एवं पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।
तत्कालका लागि लेन्थवर्करहरुलाई राहत स्वरुप पाटन नगरपालिका र मेलौली नगरपालिकाले डेढ÷डेढ लाख रुपैंया प्रदान गर्ने सहमति पनि भएको उनले बताए। पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले अनसनमा बसेकाहरुलाई जुस वितरण गरेका थिए। उनीहरुले जुस पिएर अनसन तोडेका छन्।