अझै बनेन झोलुङ्गे पुल, महाकालीमा तुइनकै भर

अझै बनेन झोलुङ्गे पुल, महाकालीमा तुइनकै भर

दार्चुला । दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनकै पर्नुपरेको छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए । घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन् ।

बर्खाको उर्लंदो महाकालीमा स्थानीयवासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ । यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जानसमेत तुइनको मात्रै भर छ ।

पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ । बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनैपर्ने बाध्यता छ ।

“तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्”, व्याँस गाउँपालिका–२ का मुकेश बुढाथोकीले भने, “तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले । तर पुल बन्ने सपना जस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसवासीलाई । ”

उनका अनुसार डोरी चुँडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो । कैयौँ महाकालीमा बेपत्ता पनि भएका छन् । फलामे तार खोलावारिपारि लगाइएको हुन्छ । फलामे तारमाथि रसी अर्थात् स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ । कैयौँले यही तुइनमा अड्क्याएको ताङ्लो चुँडिएर ज्यान गुमाउँछन् ।

यस क्षेत्रमा हरेकको घरघरमा व्यक्तिगत रुपमा ताङ्लो बनाइएको हुन्छ । खलङ्गा आउँदा झोलामा लिएर आउनुपर्छ । आउँदा जाँदा नदीवारपार गर्ने साधन नै ताङ्लो हो ।

व्यासको दुम्लिङमा नेपाल भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो । तर जब कोरोना कहर शुरु भयो, भारतले काठेपुल भत्काइदियो । त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नुपरेको छ ।

“पटकपटक नेताका आश्वासन आए, पञ्चायती बहुदल हुँदै गणतन्त्रमा देश पुग्यो, नेताका भाषण परिवर्तन भएका छैनन्, पुल बनाउँछौँ भनेकै छन् तर पुल कहिले बन्ने हो थाहा छैन”, स्थानीयवासी कल्यानसिंह धामीले भने ।

उनले घरमा चाहिने नून, चामल, साबुन तेलदेखि घर निर्माणमा प्रयोग गरिने जस्तापाता सरिया सिमेन्ट यही तुइनको सहारामा ल्याउनुपरेको बताए ।

“मैले यही तुइनमार्फत मान्छे र समान ओसारपसार गरेको पनि वर्षौं भइसक्यो”, उनले भने, “बर्खाको समयमा नदीवारपार गर्न निकै डर छ । ज्यानकै बाजी राखेर वारपार गर्नुपर्ने बाध्यता छ । तुइन नभए खानलाई अन्न हुँदैन । चामल त्यही भारत गएर ल्याउने हो ।”

अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ । यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नुपरेको हो ।

झोलुङ्गे पुल निर्माणमा ढिलाइ

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्शन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ । मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको हो ।

चारवटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ । ब्याँस गाउँपालिका–२ को माल र ३ र ४ को बर्तिघाटमा झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अहिले पनि अघि बढेको छैन ।

यी दुवै ठाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।

ब्याँस गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ढिलाइले स्थानीयवासीले हिउँद र बर्खायाम दुवै समय महाकाली नदीमाथि जोखिम मोलेर हिँड्नु परेको व्यास–२ का रवीन्द्रसिंह धामीले बताए ।