माग सम्बोधन गर्ने निर्णय नगरी जबरजस्ती अनसन तोड्न लगाएको बैतडीका लेन्थवर्करहरु को आरोप !

माग सम्बोधन गर्ने निर्णय नगरी जबरजस्ती अनसन तोड्न लगाएको बैतडीका लेन्थवर्करहरु को आरोप !

धनगढी | बैतडीको पाटन–पञ्चेश्वर सडकमा काम गर्दै आएका १२ जना लेन्थवर्करहरु २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै गत असार १८ गतेदेखि रिले अनसन बसेका थिए । 

लेन्थवर्करहरुले बुधवार अनसन तोडेका छन्। सरोकारवालाहरूले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि तत्कालका लागि अनसन स्थगित गरेको बताइएको भए पनि उनीहरूले भने आफूहरूको माग सम्बोधन गर्ने निर्णय नगरी जबरजस्ती अनसन तोड्न लगाएको बताएका छन् ।  

पारिश्रमिक पाउनुपर्ने भन्दै अनसनमा बसिरहेका १२ जना लेन्थवर्करहरु को प्रतिनिधित्व गर्दै लेन्थवर्कर जयराम भुलले धनगढी खबर सँग कुरा गर्दै भने, ‘उहाँहरूले गर्नुभएको निर्णयमा हामीहरूले असर्मथन छ भन्दा भन्दै पनि अनसन तोड्नुस् भन्दै पटक पटक आउनुभयो, हामीहरूको मेहनत गोरेअनुसारको पारिश्रमिक पाउने उद्देश्य भएता पनि पैसाको बारेमा हामी केही भन्न सक्दैनौँ त्यहाँ बाट उठ्ने भए उठ्नुहोस् नत्र त्यस्तै मरिराख्नु होस् भन्नुभयो । जिद्धि गरेर जुस खुवाउँदै अनसन तोड्न लागाईयो ।’

उनले थप्दै भने, ‘हामीले २१ महिना देखीको पारिश्रमिक पाउनु पर्ने भन्दै अनसन बसेका हौँ, तर त्यस्तो पैसा पाउने ग्यारेन्टी हुने हिसाबको प्रस्ताव पनि केही पास भएन हामी फेरी दु:खी पीडित नै भयौँ । हामीलाई पैसा चाहिएको हो अन्योलको आश्वासन हैन ।' उनले भने । 

रिले अनसन बसेर लेन्थवर्करहरुका समस्या समाधान नभएको बताउने जयराम भुलले अब आफू सँग भएका विभिन्न कागजात सहित प्रदेश सरकारका मुख्यमन्त्रीलाई भेटेर आफ्ना दुख पिडा सुनाउने र उहाँले पनि केही पहल कदम गर्नु भएन भने काठमाडौँ पुगेर प्रधानमन्त्री समक्ष  आफूहरूको उद्धारको लागी आग्रह गर्ने बताए । 

यद्यपि बुधवार अनसनरत लेन्थवर्करहरु को अनसन तोड्नको लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले लेन्थवर्करहरुसंग वार्ता गरे पछि उनीहरूले अनसन तोडेको बताइएको छ ।