एमाले जोगाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

एमाले जोगाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

काठमाडौँ | नेकपा एमाले अध्यक्ष एवं हालै प्रधानमन्त्रीबाट बाहिरिएका केपी शर्मा ओलीले उनीविरुद्ध संघर्षरत पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई विश्वासको मत दिएर ‘गिनिज बुक’मा लेखिने गरी ‘गद्दारी’ गरेको भएपनि पार्टी बचाउन उनलाई दोस्रो अध्यक्ष दिन तयार गरेको बताएका छन्।

उनले महाधिवेशनसम्म आफूले अध्यक्ष पद छोड्न नमिल्ने, बरु नेकपामा प्रचण्डले पाएको हैसियत एमालेमा नेपाललाई दिएर भए पनि एमाले बचाउने बताएका छन्।

बुधबार आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले पार्टी बचाउन पहल गर्न आग्रह गरेको पृष्ठभूमिमा ओलीले आफू पनि पार्टी बचाउन लागि परेको बताउँदै आफूसँग नेपाल मिल्न आए पार्टीको दोस्रो अध्यक्ष सुम्पिन तयार रहेको धारणा राखेका छन्।

‘मसँग अझै आग्रह छैन। म एकताका लागि मोही अझै मथ्दै छु। सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु। एकताका लागि म माधवजीलाई दोस्रो अध्यक्ष सुम्पिन पनि तयार छु। महाधिवेशन भन्दा अघि म अध्यक्षबाट हट्न मिल्दैन’, ओलीलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

योसँगै भोलि तीन बजेसम्म एकताका लागि भरपुर प्रयास गर्ने, नेपाललाई भेटेरै दोस्रो अध्यक्षको प्रस्ताव गर्ने, उनले त्यो अस्वीकार गरेमा पार्टी बैठकले उचित निर्णय लिने चेतावनी पनि ओलीले दिएका छन्।

ती केन्द्रीय सदस्यका अनुसार सम्भवत: भोलि तीन बजे अगावै ओली र नेपालबीच निर्णायक वार्ता हुनेछ। त्यसका लागि कार्यदलका पूर्वसदस्यहरु पनि जुटिरहेका छन्।

‘अन्तिम क्षणमा म साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस्। नत्र भोलि पुस्पलाल स्मृति दिवसको कार्यक्रम सकिएपछि तीन बजे फेरि बैठक बस्छ। उचित निर्णय गर्छ,‘ ओलीको भनाई उद्धृत गर्दै ती सदस्यले भने।

तर ओलीले बुधबार नै शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ जना सांसदहरुलाई त्यसबारे स्पष्ट नपारी अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिकाले प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो भन्ने मुख्य प्रश्न गर्दै २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाएका छन्।