डोटी जिल्लाका स्थानीयमा कोरोना सङ्क्रमणको डर हराउँदै

डोटी जिल्लाका स्थानीयमा कोरोना सङ्क्रमणको डर हराउँदै

डोटी । कोरोना सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दी खुकुलो भएसँगै डोटी जिल्लामा स्थानीयमा कोरोना भाइरस कोभिड १९को सङ्क्रमणको डर हराउँदै गएको छ । बजारदेखि गाउँ सम्म न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्ड समेत पालना गर्न हुने गरिएको छैन । शहरी क्षेत्रमा समेत भौतिक दूरीको कमी कायम नगर्ने, सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने क्रम पुनः दोहोरिएको छ ।

कोरोनालाई सामान्य रुपमा लिने गरिएको तर्फ संकेत गर्नुहुँदै डोटीको पूर्वीचौकी गाउँपालिका –२ का भीमबहादुर ठकुल्लाले भन्नुभयो,– ‘अब त गाउँँमा कोरोनालाई बिर्सिसके, मास्क प्रयोग गर्ने मान्छे भेटिनै गा¥होे छ, फेरि पुरानै चहलपहल फर्किएको छ ।’

जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको भए पनि दैनिक जिवनमा सहजता होस भन्दै ब्यापर ब्यवसायल, यातायात, कार्यालय सञ्चालन लगायतका बिषयमा सहजिकरण सहित असार १५ गते सम्म निषेधाज्ञा जारी नै राखेको छ । पछिल्लो पटक जिल्लामा नयाँ सङ्क्रमित आउने क्रम रोकिएको छ । जिल्ला अस्पताल डोटीमा कोरोना सङ्क्रमितको उपचारका लागि छुट्टयाइएका शैयाहरु समेत खाली भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धववहादुर ठगुन्नाका अनुसार कोरोना सङ्क्रमण देखा परेयता कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन महिला र आठ पुरुष गरि ११ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामै उपचारका क्रममा ११ जनाको मात्रै निधन भएको भएपनि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने डोटीका १५ जनाले कोरोना महामारी बिरुद्धको लडाईमा आफ्नो ज्यान गुमाएका छन् । निर्देशनालयका अनुसार पिसिआर बिधिबाट परीक्षण भएकामध्ये १० र एण्टिजेन बिधिबाट परीक्षण भएकामध्ये पाँच जनाले ज्यान गुमाएका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) कारण डोटी जिल्लामा २०७८ साल असारसम्म दुई हजार आठ सय ६५ जना संक्रमित भएका छन् । जिल्लामा २०७७ साल जेठ १९ गते पहिलो पटक शिखर नगरपालिका–३ का एक जना पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

२०७८ असार मसान्तसम्म एण्टिजेन बिधिबाट दुई हजार नौ सय २५ जनामा परीक्षण गर्दा तीन सय ६६ अर्थात् १२.५१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । यस्तै, पिसिआर बिधिबाट १५ हजार ६ सय चार जनाको स्वाव परीक्षण गर्दा दुई हजार चार सय ९९ अर्थात् १६ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

यसअघि २०७७ साल असारमा संक्रमण उच्च बिन्दुमा देखिएको थियो । उक्त महिना पाँच सय २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । फागुन महिनामा भने एक जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएन् ।

दोश्रो लहरको कोरोना सङ्क्रमणका क्रममा २०७७ साल चैत्रमा १० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयको डोटीको तथ्याङ्कले देखाउँछ । यो संगै दोश्रो लहरको महामारी सुरु भएपछि असार मसान्तसम्म एक हजार चार सय ५३ जना सङ्क्रमण भएका छन् ।

परीक्षण गराउने घटे

पछिल्लो समयमा जिल्लामा स्वैच्छिक रुपमा कोरोना परीक्षण गर्नेको संख्या घटेको जिल्ला स्वास्थ्य कार्यालयको अनुभव छ । सङ्क्रमण हुँदा आईसोलेसनमा बस्नु पर्ने र आफुलाई बिभेद भएको महसुस गर्ने भएका कारण पनि परीक्षण गराउन आउन नमानेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्पर्क व्यक्ति (फोकल पर्सन) तेज बिक्रम शाही वताउनुहुन्छ ।

परीक्षण गराउन जानु प¥यो भन्दा उल्टै आफुलाई केही नभएको भन्दै स्वास्थ्यकर्मीहरुलाई समेत गाली गर्ने गरेको शाही अनुभव छ । उहाँले भन्नुभयो,– ‘लक्षण कोरोनासंग मिल्दाजुल्दा देखिएका भएपनि लुकाउने गरेका छन्, यसले गर्दा संक्रमण फैलिन मद्दत गरिरहेको छ ।’ छुट्टै क्वारेन्टिन भएका कारण पनि यो समस्या आएको हुन सक्ने शाहीको दाबी छ । गोरखापत्रबाट