बझाङमा बाढीले लघुजलविद्युतको भवन बगायो

बझाङमा बाढीले लघुजलविद्युतको भवन बगायो

बझाङ । मष्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघु जलविद्युत्को भवन बगाएको छ । बाढीले द्वारीगाड लघु जलविद्युत् आयोजनाको भवन बगाएको हो । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको आयोजनाबाट द्वारीगाउँका करीब ५०० घरधुरीले विद्युत् बाल्ने गरेका थिए ।

लघुजलविद्युत्को भवन केही समय सञ्चालनमा आए पनि प्राविधिक समस्याका कारण बीचमा अवरुद्ध भएको र हाल निर्माण कार्य चलिरहेका बेला एकाएक परेको अविरल वर्षाले भवन नै आधा बगाएको स्थानीयवासी उब्जन बोहराले बताए ।

वर्षाले सोही दिन द्वारीगाडबाट द्वारीगाउँकै वारिपारि जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार पुनः काठेपुल हाल्दा द्वारीगाडले बगाएर तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा सोही गाउँका ४२ वर्षीय नरबहादुर बोहरा, ५५ वर्षीय वडाध्यक्ष कम्मान बोहरा र ६५ वर्षीय रिउल्या कठायत रहेका छन् । दुई जनाको अवस्था सामान्य भए पनि नरबहादुरको कम्मरमा गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दीप ओखेडाले बताए । सोही दिन किनाडा गाउँका बासिन्दा गिरिस कठायतको खेत र घट्ट बगाएको छ ।