९ तोला सुन चोरेको आरोपमा बैतडीमा पाँच जना पक्राउ

९ तोला सुन चोरेको आरोपमा बैतडीमा पाँच जना पक्राउ

बैतडी । बैतडीमा मन्दिरको सुन चोरेको र किनेको पाँच जना पक्राउ परेका छन्। दोगडाकेदार गाउँपालिका–१ रीमको लटिनाथ मन्दिरमा देउताका नाममा चढाइएको ९ तोला सुन चोरेको आरोपमा सोही ठाउँका धनबहादुर कार्की, केशब सार्की, लालबहादुर कार्की र हरिकृष्ण सार्की पक्राउ परेका हुन्। 

यस्तै बिलबिना उनीहरूबाट सुन खरिद गरेको आरोपमा दार्चुला गोकुलेश्वरका भुवनसिंह साहु पनि पक्राउ परेका छन्। पुजारी नैनराम सार्कीले गाउँको मन्दिरमा देउतालाई चढाएको उक्त सुन आफ्नो घरमा राखेको अवस्थामा ढोका फुटाइ चोरी भएको बताएका छन् । 

इलाका प्रहरी कार्यालय पाटनका अनुसार गएको पुसमा उक्त सुन चोरी भएको थियो। पुजारी सार्कीले गएको चैतमा सुन चोरी थाहा पाएको प्रहरीसमक्ष बताएका छन्।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार गाउँलेले सुनसहित २ जनालाई पक्राउ गरेर प्रहरीकहाँ बुझाएको बताए। उनीहरूविरूद्ध गएको असार २४ गते सुन चोरेको भन्दै जाहेरी प्राप्त भएको शाहीले बताए। 

जाहेरीका आधारमा दुबै जनालाई नियन्त्रणमा लिई मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए। पक्राउ पर्नेहरूको बयानका आधारमा थप ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

पौने चार तोला सुन उनीबाट बरामद गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानको फायलसँग सुन अदालतमा पेश गरिने इन्स्पेक्टर शाहीले बताए।

‘बाँकी सुन आधा विक्री गरेको भन्ने आएको छ,’ उनले भने। बिनाबिलको अरू सुन खरिद गर्नेहरूको खोजी भइरहेको उनले बताए।