‘अनलाइन फारम नभरेकै कारण कोही खोपबाट वञ्चित हुँदैनन्’

धनगढी खबर    

‘अनलाइन फारम नभरेकै कारण कोही खोपबाट वञ्चित हुँदैनन्’

सरकारले अनलाइन फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने जनाएको छ । अब कोरोना विरुद्धको खोपका लागि अनलाइनमार्फत फारम भर्नु पर्ने नियम बनाएको सरकारले फाराम नभरेकै आधारमा खोपबाट वञ्चित भने हुनु नपर्ने जनाएको हो ।

खोप लगाउने र खोप लगाइसके पछि प्रमाणपत्र लिनेहरुको भीड बढेपछि अहिले अनलाइन दर्ताको व्यवस्था गरिएको हो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले देशभरको सबै स्वास्थ्य कार्यालयलाई  पत्र पठाउँदै गएको १ गतेदेखि अनलाइन दर्ताको व्यवस्था मिलाउन भनेको हो ।

यो झन्झटिलो प्रक्रिया भएकाले इन्टरनेटको पहुँच नभएका ठाउँका नागरिक खोपबाट वञ्चित हुने हो कि भन्ने आशङ्का बढेको छ ।  तर, स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले भीड नियन्त्रणका लागि गरिएको यो प्रयासबाट कोही पनि खोप लगाउनबाट नछुट्ने दाबी गर्नुभयो ।

खोप अभियानबारे आफ्नो जिल्लाले बनाएको नियम र सूचनाबारे जानकारी राख्न पनि उहाँको सुझाव छ । स्वास्थ्य मन्त्रालयले अहिले ५० वर्षभन्दा माथिका नागरिक र निश्चित वर्ग तथा पेसा छुट्याएर खोप अभियान सञ्चालन गरिरहेको । काठमाण्डौमा भने १८ वर्षभन्दा माथिका नागरिकलाई पनि एक मात्रा लगाए  पुग्ने अमेरिकी खोप दिइएको छ ।

अमेरिकाबाट आएको कोभ्याक्स सुविधाको १५ लाख खोप सुरुमा ५० देखि ५४ वर्षका नागरिक, नेपालमा बसोबास गर्ने शरणार्थी तथा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिने भनिए पनि खोप बढी भएपछि १८ वर्षभन्दा माथिका अरु नागरिकलाई पनि दिइएको हो ।

यस्तै, ५५ वर्षभन्दा माथिकालाई चिनियाँ भेरोसेल खोप दिइ राखिएको छ । स्वास्थ्य मन्त्रालयले छिट्टै १८ देखि ५० वर्ष उमेर समूहलाई पनि खोप दिने जनाएको छ ।



आइतबार १०, साउन २०७८ ०१:२२ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस