साफ च्याम्पियनसिप फुटबल आयोजना गर्न नेपाललाई प्रस्ताव

साफ च्याम्पियनसिप फुटबल आयोजना गर्न नेपाललाई प्रस्ताव

आगामी अगस्टमा हुने तय भएको १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल आयोजना गर्न नेपाललाई औपचारिक रुपमा प्रस्ताव आएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)बाट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव  आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

साफका महासचिव अनवारुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई आइतबार एक पत्र लेख्दै आयोजनाको औपचारिक प्रस्ताव गरेका एन्फाले बताएको छ । महासचिव तुलाधरले प्रतियोगिताको आयोजनाका लागि नेपालले विस्तृत प्रस्ताव तयार पारी अनुमोदनका लागि साफ समक्ष पेस गर्ने जानकारी गराए । 

प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी पाएको बंगलादेशले कोरोना महामारीका कारण आफूले साफ गर्न नसक्ने बताइसकेको छ । बंगलादेशमा साफ नहुने भएपछि नेपालसहित श्रीलंका, भारत र माल्दिभ्सले  प्रतियोगिता आयोजनाको लागि दाबेदारी प्रस्तुत गरेका थिए । 

नेपालले यसअघि सन् १९९७ र २०१३ को साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ ।