क्यान्सर अस्पतालमा ९० दिनको अबधिमा १८५ कोरोना सङ्क्रमितलाई सेवा

क्यान्सर अस्पतालमा ९० दिनको अबधिमा १८५ कोरोना सङ्क्रमितलाई सेवा

भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ ।

अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत वैशाख २० गतेदेखि कोरोनाको उपचारसमेत शुरु गरेको हो ।

क्यान्सर रोगको मात्रै उपचार गर्दै आएको अस्पतालले जिल्लामा कोरोना सङ्क्रमितका लागि शय्या र अक्सिजन अभाव हुने भएपछि सेवा शुरु गरेको जनाएको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार हालसम्म १८५ कोरोना सङ्क्रमितको उपचार गरिएको छ । तीमध्ये १४७ जना निको भएर घर गइसकेका छन् भने १० जनाको उपचार भइरहेको छ ।

अठ्ठाइस जनाको उपचार गर्दागर्दै मृत्यु भएको छ । उपचार गरिएकामध्ये केही क्यान्सरका बिरामी, कुरुवा हुन् भने केही स्थानीय र बाहिरी जिल्लाबाट कोरोना उपचारका लागि मात्रै आएका हुन् ।

गत वैशाख २० गते क्यान्सर उपचारका लागि आउने बिरामीलाई कोरोना पोजेटिभ देखिएमा उपचार गर्ने गरी २० शय्याबाट यो सेवा शुरु गरिएको डा शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “क्यान्सरका बिरामीलाई सङ्क्रमण भयो भने घरमा पठाउन पनि नमिल्ने, अरु अस्पतालले पनि नहेर्ने अवस्था आएपछि सेवा शुरु गरेका हौँ ।” क्यान्सरका बिरामीलाई सङ्क्रमण भएर अरु अस्पतालमा पठाउँदा यहीँबाट चिकित्सकसमेत पठाउनुपर्ने अवस्था आएपछि यहीँबाट सेवा शुरु गरेको उहाँको भनाइ थियो ।

कोरोनाको दोस्रो लहर बढ्दै जाँदा सङ्क्रमितको उपचारका लागि जिल्लामा शय्या अभाव हुने देखिएपछि जेठ १ गतेदेखि सेवा विस्तार गर्दै १४० शय्या पुर्याइएको उहाँले बताउनुभयो ।

तीमध्ये ८८ साधारण, ४० एचडियु, १२ आइसियू र चार भेन्टिलेटर रहेका थिए । उपनिर्देशक डा शर्माले भन्नुभयो, “केन्द्रदेखि जिल्लासम्मबाट कोरोना सङ्क्रमितको उपचारका लागि सघाउन आग्रह गरिएपछि वार्ड सञ्चालन गरेर सेवा दिएका हौँ ।”

अस्पतालको पुरानो भवनमा रहेका वार्डलाई नयाँ भवनमा रहेका अरु वार्डसँग मिसाएर पुरानो भवनमा कोरोना सङ्क्रमिको उपचार गरिएको थियो ।