चौरपाटीमा एक घर एक धारा कार्यक्रम : १ हजार २ सय धारा निर्माण, स्थानीय खुसी

चौरपाटीमा एक घर एक धारा कार्यक्रम : १ हजार २ सय धारा निर्माण, स्थानीय खुसी

अछाम । अछामको चौरपाटी गाउँपालिकाका सबै घरमा खानेपानीको सुविधा पुर्‍याउने योजनाको तीव्र गतिमा निर्माण कार्य चलिरहेको छ । महत्त्वाकाङ्क्षी योजनाको रूपमा सञ्चालित एक घर, एक धारा कार्यक्रम अन्तर्गतको योजनाबाट स्थानीय उत्साहित छन् । 

चौरपाटी गाउँपालिकाका स्थानीय लामो समयदेखि कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठुलो सास्ती गृहिणीले व्यहोर्थे अनि विद्यार्थीले पनि ।

अहिले गाउँपालिकाका विभिन्न वडामा खानेपानीको एक घर, एक धारा कार्यक्रम सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा हालसम्म करिब १ हजार २ सय खानेपानीको धारा निर्माण गरिएका छन् ।

चौरपाटी गाउँपालिका वडा नम्बर १ मा २ सय ४६ घरधुरीमा खाने पानीका धारा निर्माण गरिएका छन् । वडा नम्बर १ मा गैरिलेख खानेपानी योजना अन्तर्गत ६ लाख ६० हजारको लगानीमा ५० घरधुरीमा खानेपानीको धारा  निर्माण गरिएका छन् ।

यस्तै फुवाखोला खानेपानी योजना अन्तर्गत १९ लाखको लागतमा ४९ वटा घरधुरीमा धारा निर्माण, मटेना खानेपानी योजना अन्तर्गत १२ लाखको लगानीमा २५ वटा धारा निर्माण, भिमढुंगा खानेपानी योजना अन्तर्गत २८ लाखको लागतमा ३६ वटा खानेपानीको धारा निर्माण र चौरपाटी पाले तोला खानेपानी योजना अन्तर्गत ४२ लाख लागतमा ८६ वटा धारा निर्माण गरिएका हुन् । वडा नम्बर १ मा १ करोड ७ लाख ६० हजारको लागतमा जम्मा २ सय ४६ वटा धारा निर्माण गरिएका छन् । 

यस्तै वडा नम्बर २ मा बड्डीमाडो खानेपानी योजना अन्तर्गत ७ लाख ५० हजारको लागतमा १२ वटा धारा निर्माण गरिएका छन् भने शोकट बृहत् खानेपानी योजना अन्तर्गत ६५ लाखको सङ्घीय सरकारको समपूरक अनुदान सहयोगमा १ सय ७० वटा धारा निर्माण गरिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले जानकारी दिनुभयो ।

वडा नम्बर २ मा ७२ लाख ५० हजार को लागतमा १ सय ८२ वटा धारा निर्माण गरिएका छन् । वडा नम्बर २ मा धारा निर्माणको काम जारी छ ।

यसैबिच वडा नम्बर ४ मा काली गाडी बुढा खोला खानेपानी योजना अन्तर्गत १ करोड २९ लाखको लागतमा २ सय ८५ धारा निर्माण गरिएका छन् ।जसमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) को पनि सहयोग रहेको छ । 

यस्तै बडेदा खानेपानी योजना अन्तर्गत १४ लाखको लागतमा २९ वटा धारा निर्माण गरिएका छन् भने मदाने खानेपानी योजना अन्तर्गत २८ लाखको लागतमा ४८ वटा खानेपानीको धारा निर्माण गरिएका छन् ।

जसअन्तर्गत वडा नम्बर ४ मा १ करोड ७१ लाखको लागतमा ३ सय ६२ वटा धारा निर्माण गरिएका छन् । यसैबिच वडा नम्बर ७ मा ऐरीमुल खानेपानी योजना अन्तर्गत २ करोड १२ लाखको लागतमा ४ सय ९ खानेपानीको धारा निर्माण गरिएका छन् ।

कार्यक्रम सञ्चालन भएदेखि हालसम्म चौरपाटी गाउँपालिकामा ५ करोड ६३ लाख १० हजारको लागतमा १ हजार १ सय ९९ वटा खानेपानीको धारा निर्माण भएका छन् । भने अन्य वडामा अहिले पनि धारा निर्माणको काम चलिरहेको छ ।

चौरपाटी गाउँपालिकामा एक घर एक धारा निर्माण कार्यक्रम अन्तर्गत अन्य वडामा पनि काम सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले जानकारी दिनुभयो । सङ्घीय सरकारको बृहत् मुङग्राँ खानेपानी योजनाको काम पनि टेन्डर प्रक्रियामार्फत सञ्चालन भइरहेको छ । 

अबको केही वर्षमा गाउँपालिकाका सबै घरमा सफा खानेपानीको धारा निर्माण गर्ने गाउँपालिको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनुभयो । खानेपानीको दिगो व्यवस्थापनका लागि पनि आफूले योजना बनाइरहेको उहाँले बताउनुभयो । अनलाईन रेडियो नेपालबाट