बझाङमा खाद्यको चामल महँगो भएपछि बजारबाटै खरिद

बझाङमा खाद्यको चामल महँगो भएपछि बजारबाटै खरिद

बझाङ । बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने चामल महँगो हुँदा कम्पनीको गोदामबाट चामल बिक्री हुन छाडेको छ। पसलभन्दा कम्पनीमा तीन रुपैयाँले महँगो भएको स्थानीयहरुले बताएका छन् ।

कम्पनीले बिक्री गर्ने चामल बजार भाउभन्दा प्रतिकिलो तीन रुपैयाँ महँगो भएपछि स्थानीयले स्थानीयले किन्न छाडेको जयपृथ्वी नगरपालिका–११ भोपुरका सुरेन्द्र जोशीले बताए। ‘पहिला पहिला चर्को घाममा कम्पनीमा हामी दिनभर लाइन लागेर दुई दिनसम्म चामल पाउँदैनथ्यौं,’ जोशीले भने, ‘अहिले घरघर यातायातका साधनहरु घरघरमा पुगेपछि कम्पनीमा जान छाड्यौं। संस्थानको भन्दा सस्तो घरमै पुग्छन चामल।’

बझाङ जिल्लामा शाखा कार्यालय र तीनवटा डिपो गरी चारवटा बिक्री केन्द्र छन्। शाखा कार्यालय र कार्यालय देवल, डिपो कार्यालय विसौना र तलकोटबाट प्रतिकिलो ४५ र काँडा डिपोबाट प्रतिकिलो ५० रुपैयाँमा अरुवा मोटो चामल बिक्री हुँदै आएको छ। यही चामल बजारमा प्रतिकिलो ४२ रुपैयाँमा बिक्री हने गरेको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बझाङ कार्यालय शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले भने बजारको चामलभन्दा कम्पनीमा रहेको चामल गुणस्तरको भएकाले मूल्य बढी तोकिएको बताउँछन्। साथै, मूल्य महँगो भएको जनगुनासो आए पनि केन्द्रबाट परिपत्र नआएसम्म मूल्य परिवर्तन गर्न नमिल्ने बताए।

पाण्डेका अनुसार गोदामबाट कारागारबाहेक अन्य कुनै सरकारी कार्यालयले पनि चामल किन्दैन। संस्थानको कार्यालयमा पुग्नको लागि यातायात साधन पुग्ने बाटो नभएकाले पनि यस्तो भएको उनको भनाइ छ।

‘अहिले घरघरमा यातायातका साधन पुगेका बेला बोकेर कसले दुःख गरेर चामल बोक्ने?’ उनले भने, ‘पायक पर्ने ठाउँमा कार्यालय नभएर पनि चामल बिक्रीमा समस्या भएको छ। किन्न कोही आउँदैनन्। अहिले त कारागारमा चाहिने परिणाममा मात्र चामल मगाउने गरेको छु।’

सरकारले चामल सर्वसाधारणलाई सहुलियतमा उपलब्ध गराउने भनिए पनि केन्द्रीय कार्यालयबाटै मूल्य तोकेर आउने गरेको छ। मूल्य तोकिएर आउने गरेपछि केही वर्षदेखि नै संस्थानको र बजारको मूल्यमा तीन रुपैयाँ फरक पर्न थालेको छ।