राजश्व कार्यालय धनगढीद्वारा २३ प्रतिशत बढी राजश्व सङ्कलन, कस्तो अवस्थामा पाइन्छ करमा छुट ?

राजश्व कार्यालय धनगढीद्वारा २३ प्रतिशत बढी राजश्व सङ्कलन, कस्तो अवस्थामा पाइन्छ करमा छुट ?

धनगढी । आन्तरिक राजश्व कार्यालय धनगढीले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्य भन्दा २३.५४ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षका लागि चार अर्ब ५० करोड १० लाख ५४ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार रुपैयाँ (१२३.५४ प्रतिशत) राजश्व सङ्कलन भएको छ । आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी हिरानन्द देवकोटाले अघिल्लो वर्ष कोरोना महामारीका कारण उठ्न नसकेको र बक्यौता रहेको राजश्व आर्थिक वर्ष २०७७/७८ मा उठेकोले आन्तरिक राजश्व लक्ष्यभन्दा बढी सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार एक अर्ब ४१ करोड २२ लाख १२ हजार आयकर उठाउने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ८३ करोड एक लाख ६८ हजार (१२३.५४ प्रतिशत) सङ्कलन भएको छ ।

त्यस्तै, तीन करोड पाँच लाख ३२ हजार रुपैयाँ ब्याज सङ्कलनको लक्ष्य राखिएकोमा तीन करोड १० लाख १८ हजार (१०१.९६ प्रतिशत), आन्तरिक मूल्य अभिवृद्धि कर ९५ करोड ९१ लाख ४७ हजार उठाउने लक्ष्य राखिएकोमा एक अर्ब ४३ करोड चार लाख सात हजार (१४९.१३ प्रतिशत), आन्तरिक एक्साईज एक अर्ब ९० करोड १६ लाख २६ हजार उठाउने लक्ष्य रहेकोमा दुई अर्ब पाँच करोड ६० लाख १४ हजार (१०८.१२ प्रतिशत) र स्वास्थ्य सेवा कर छ करोड ४५ लाख ८४ हजार उठाउने लक्ष्य राखिएकोमा ११ करोड ३८ लाख ४५ करोड रुपैयाँ (१७६.२७ प्रतिशत) सङ्कलन भएको छ । घर भाडा कर र शिक्षा कर भने लक्ष्यभन्दा कम सङ्कलन भएको आन्तरिक राजश्व कार्यालय धनगढीले जनाएको छ । त्यस्तै अहिलेको अवस्थामा कार्यालयमा सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै नागरिकको सहज पहुँच कायम गर्दै सेवा दिइरहेको सूचना अधिकारी देवकोटाले बताए ।

त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ को आर्थिक ऐन अध्यादेश २०७८ ले आम करदाताहरूलाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा विभिन्न छुट सहितको व्यवस्था गरेकोले सोही अनुसार आफूहरूले विभिन्न माध्यमबाट जनस्तरसम्म जानकारी दिनुका साथै अध्यादेश २०७८ को पालन गर्दै सेवा सञ्चालन गरेको उनले बताए ।

देवकोटाले भने, 'अन्त शुल्कमा दर्ता भएका आम करदाताहरूले वार्षिक नवीकरण गर्नु पर्ने हुन्छ । नवीकरण नगराएकै कारण १०० प्रतिशत जरिवाना तिर्नु पर्ने हुन्थ्यो तर यस आर्थिक ऐनले तिर्नु पर्ने कर बुझाए पछि सम्पूर्ण जरिवाना मिनाहा गरेको छ । पहिले खरिद बिक्री खाताहरू कर कार्यालयमा आएर कर अधिकृतबाट प्रमाणित गराउनु पर्थ्यो तर अब करदाता आफैले प्रमाणित गरेर राख्नुपर्छ, राख्न सक्ने छन् । आयकरहरूमा विभिन्न छुट रहेको छ । जस्तै, साना 'डे वान' (२०लाख) सम्मका कारोबार हुनेले ९० प्रतिशत सम्म छुट प्राप्त गरिराख्नुभएको छ । 'डे टु' ५० लाख सम्मका कारोबारहरू ले ७५ प्रतिशत कर छुट प्रदान गरिएको छ । र १ करोड सम्म कारोबार गर्नुहुने करदाताहरूलाई ५० प्रतिशत कर छुट सुविधा रहेको छ । भने मूल्य अभिवृद्धि लगायतका विभिन्न कर छुट स्किमहरू रहेका छन् ।' उनले भने ।

साथै, आगामी आर्थिक वर्षको लक्ष हासिलका लागि पनि कार्यालय निरन्तर लागि परेको आन्तरिक राजस्व कार्यालय धनगढीले जनाएको छ ।