कोरोना भाइरसको दुवै खोप लगाएका व्यक्तिमा इम्युनिटी क्षमतामा कमी

कोरोना भाइरसको दुवै खोप लगाएका  व्यक्तिमा इम्युनिटी क्षमतामा कमी

कोरोना भाइरसविरुद्ध प्रयोग भइरहेका फाइजर र एस्ट्राजेनेका खोप लगाएका व्यक्तिमा इम्युनिटी क्षमता कमी आएको लन्डन विश्वविद्यालयले हालै प्रकाशित गरेको एक जनरल रिपोर्टमा जनाएको छ । दुवै खोप लगाएका व्यक्तिको शरीरमा ६ हप्तापछि इम्युनिटी क्षमतामा कमी आएको रिपोर्टमा भनिएको छ । लन्डन विश्वविद्यालयका अनुसार दश सातापछि शरीरको एन्टिबडी लेभल ५० प्रतिशतमा झरेको छ । 

लन्डन विश्वविद्यालयले १८ वर्षभन्दामाथिका ६ सयजनामा अध्ययन गरेको हो । यसमा कोरोनाको पहिलो र तेस्रो लहरको क्रममा संक्रमित बिरामी नै मुख्य प्राथमिकतामा राखेको विश्वविद्यालयले जनाएको छ । लन्डन विश्वविद्यालयमा कार्यरत अनुसन्धानकर्ताहरूले भ्याक्सिन लगाएका व्यक्तिको शरीर बिस्तारै कमजोर र शक्तिहीन हुँदा निकै चिन्ताजनक विषय भएको दाबी गरेका छन् । अनुसन्धानकर्ताहरूले फाइजर र एस्ट्राजेनेका खोपको असर बिस्तारै कम हुदै गइरहेको आशंका व्यक्त गरेका छन् । 

‘हामीलाई प्राप्त अनुसन्धात्मक डाटाअनुसार एस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरूको इम्युनिटी क्षमता घट्दै गइरहेको पाएका छौँ, यो भनेको खोपको असर बिस्तारै कम हुँदै गइरहेको जस्तो लाग्छ,’ लन्डन विश्व विद्यालयको जनरल रिपोर्टमा उल्लेख छ, ‘यो खोपले नयाँ भेरियन्टविरुद्ध काम नगरेको देखिन्छ ।’ 

एस्ट्राजेनेकाको तुलनामा फाइजरले बढी काम गरेको पनि विश्व विद्यालयको भनाइ छ । फाइजर खोप लगाएका व्यक्तिमा त्यति धेरै समस्या नआएको पनि लन्डन विश्वविद्यालयकी प्रोफेसर मुधमिता श्रुतीले बताइन् । ‘हुन त दुवै खोपमा समस्या देखिन्छ, तर फाइजर खोप लगाएका व्यक्तिमा त्यति धेरै समस्या देखिएको छैन,’ प्रोफेसर श्रुती भन्छिन्, ‘फाइजरमा एस्ट्राजेनेकाको भन्दा धेरै एन्टिबडी लेभल देखिएको छ ।’ 

अनुसन्धानको क्रममा तीन महिनाभित्र एस्ट्राजेनेकाको असर कमी आउँदा आश्चर्यमा परेको उनले बताइन् । ‘तीन महिनाभित्र नै एस्ट्राजेनेका खोपको असर बिस्तारै घटेको पाएका छौँ,’ आश्चर्य जनाउँदै प्रोफेसर श्रुतीले भनिन्, ‘यसबारेमा थप अनुसन्धान हुनुपर्छ ।’ भ्याक्सिनका कारण शरीरको एन्टिबडी क्षमता कमी आए पनि स्मरण शक्तिमा केही असर नगरेको प्रोफेसर श्रुतीले बताइन् ।