मेरो स्वर जसको अनुहारमा राखेपनि सुहाउँछः हरिवंश आचार्य

मेरो स्वर जसको अनुहारमा राखेपनि सुहाउँछः हरिवंश आचार्य

हाँस्य कलाकार हरिवंश आचार्यको अभिनयको फ्यान नहुने सायदै कम होलान् । हरिवंशले तयार पारेका सिरियलदेखि चलचित्रसम्मलाई दर्शकले निकै मन पराएका छन् । तर, हरिवंशको परिचय कलाकारमा मात्र सिमित छैन । हरिवंशको स्वरमा दर्शकले विभिन्न समयमा गीत पनि सुन्न पाएका छन् । उनको स्वरलाई रुचाउने श्रोताको संख्या पनि धेरै छ ।

हरिवंशले पछिल्लो पुस्ताका कलाकारका लागि पनि स्वर दिएका छन् । उनी भन्छन्–‘मेरो अनुहारमा जसको स्वर राखेपनि सुहाउँछ । अनी, मेरो स्वर जसको अनुहारमा राखेपनि सुहाउँछ । कसै–कसैको स्वर त्यस्तै हुन्छ । आखिर, हामीले पनि स्वर दान दिने त हो । रक्तदान, नेत्र दान भने जस्तै स्वर दान गर्ने हो ।’

हरिवंशले गाएका ‘साझा बसमा जो पनि चढ्दछ, हाम्री आमा साह्रै नै बाठी छन्’ लगायतका गीतहरु सुपरहिट भए । उनी भन्छन्–‘मैले पहिले पहिले केही चलचित्रका लागि पनि गीत गाएको छु । ती गीतहरु सो समयमा नायकहरुलाई लागि सुहाएको छ भन्ने लाग्छ ।’

हरिवंशको स्वरमा दर्शकले सन्देशमुलक गीत बढी सुन्न पाएका छन् । तर, कहिलेकाही हरिवंश रोमान्टिक गीत पनि गाउँछन् । उनी भन्छन्–‘कुनै पनि गीत बज्दा दर्शकले संझने भनेको हाम्रो अनुहार हो । यसैले, कहिलेकाही दर्शकले संझनका लागि पनि गाउनुपर्छ ।’