कैलालीमा नेपाल–भारत सीमा क्षेत्रमा अधिकांश ठाउँमा मोहना नदी बगेको छ । नदी वारी नेपाल र पारी भारत भएको भएपनि कहिँकतै नदी पारी समेत नेपाली बस्ती रहेको छ । मोहना पारी नेपालको सीमा जोगाएर बसेका बस्ती हुन् कैलालीको धनगढी उपमहानगरपालिका–१९ को लग्गाभग्गा र आँखाकाटे । यी दुवै गाउँका स्थानीय सीमाका नेपाली पिलर बनेर बसेका छन् । नदी पारी केही भागमा बस्ती भएकै कारण भारतीय पक्षबाट सीमामा हुने अतिक्रमण पनि रोकिएको छ ।
लग्गाभग्गा क्षेत्रसँगै भारतको दुधुवा राष्ट्रिय निकुञ्ज जोडिएको छ । ‘सुरु–सुरुमा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले हामीलाई यहाँ बस्न दिँदैन थिए । हामीले जसोतसो गरी यहीँ घर बनाई खेती गरेर आफ्नो जमीनको रक्षा गरेका छौँ’, स्थानीय हंशराम रानाले भने, ‘अहिले सुरक्षाकर्मीले त्यति समस्या दिँदैनन् तर कहिलेकाहीँ धम्की आउन भने छाडेको छैन ।’
रानाले आफूहरु सो समयमा त्यहाँ बसोबास नगरेको भए उक्त क्षेत्र भारतले कब्जा गरिसक्ने बताए । उनले भने, ‘उनीहरु नेपाल–भारतको सीमा यही नदीले छुट्याएको ठान्छन् तर, यो नदीले धार परिवर्तन गर्दा नेपालको बस्ती बढी कटान हुँदै गयो । यो जमिनमा हामी नबसेको भए भारतले आफ्नो भनेर दाबी गर्ने थियो ।’