खोप लगाउनेको घुइँचो

खोप लगाउनेको घुइँचो

मुसीकोट नगरपालिका–१ स्थित बालमन्दिर प्रांगणमा बुधबार बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउनेको भीड थियो । महिला र पुरुषको फरकफरक लाइन भए पनि स्थानीयले धकेलाधकेलमै खोप लगाए । बाँफिकोट गाउँपालिका–३ दहस्थित आधारभूत स्वास्थ्यचौकीमा पनि स्थानीयले त्यसरी नै खोप लगाए ।

सानीभेरी र त्रिवेणी गाउँपालिकाका विभिन्न खोप केन्द्रमा पनि धकेलाधकेल हुने गरी लाइन लाग्यो । स्थानीय प्रशासनले कोरोना महामारीका कारण भीडभाड नगर्न र नगराउन सूचना जारी गरे पनि स्थानीयले भीडभाडमै खोप लगाउने गरेका छन् । बालमन्दिरमा बिहान साढे १० बजेदेखि खोप लगाउने भनिएको थियो । तर स्थानीय १० बज्नुअघि नै खोप केन्द्रमा पुगेर लाइन बसेका थिए ।

खोप लगाउने मापदण्ड पुगेका सबै पायक पर्ने खोप केन्द्रमा आए । ‘कोरोनाबाट बच्न खोप अनिवार्यजस्तै भइसकेकाले पनि होला दिनभर भीडभाड रह्यो,’ बालमन्दिरको खोप केन्द्रमा आमालाई खोप लगाउन आएका तुलानरसिं बुढाले भने, ‘पाएसम्म मापदण्डमा पर्ने/नपर्ने सबैले खोप लगाउन खोजेको पाइयो ।’ उनले दिनभर बालमन्दिर प्रांगण खाली नभएको बताए । खोप लगाउन खटिएका स्वास्थ्यकर्मीलाई पनि यसको व्यवस्थापनमा हम्मेहम्मे पर्‍यो ।

जिल्लामा बुधबारदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको छ जिल्लाका ६ मध्ये ४ वटा स्थानीय तहमा चीनबाट आएका भेरोसेल खोप लगाउन सुरु भएको हो । मुसीकोट नगरपालिका, सानीभेरी, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा खोप लगाउन सुरु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । मुसीकोटका ६, सानीभेरीका ५, त्रिवेणीका ५ र बाँफिकोटका ४ वटा केन्द्रबाट खोप लगाउन सुरु भएको कार्यालयकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताइन् । उनका अनुसार खोप लगाउन सुरु भएका ४ स्थानीय तहमा ३ दिनसम्म खोप कार्यक्रम जारी रहनेछ । आठबीसकोट र चौरजहारी नगरपालिकामा भने साउन १६ गतेबाट खोप लगाउन सुरु हुने उनको भनाइ छ ।

आठबीसकोटका ५ र चौरजहारीका ५ वटा खोप केन्द्रमा पनि तीन दिनसम्म खोप लगाउन पाइने खोप सुपरभाइजर अधिकृत खड्काले बताइन् । जिल्लामा अहिले झन्डै ११ हजार व्यक्तिलाई पुग्ने खोप आएको छ । ५५ वर्ष माथिका सबै नागरिक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायात सेवाका चालक र सहचालकलगायतलाई खोप लगाइने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भेरोसेल खोप कार्यक्रम १८ गतेसम्म सञ्चालन हुनेछ । त्यसपछि अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिइन् । उनका अनुसार यो कार्यक्रम सकिएपछि कोभिड सिल्डको पहिलो डोज लगाएकाहरूलाई जापानबाट आउने अस्ट्राजेनिका खोप लगाउने तयारी गरिएको छ ।