प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न चण्ड बालुवाटार पुगेका थिए।

बालुवाटार स्रोतका अनुसार देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाडका विषयमा छलफल भएको छ। बुधबारको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाड गरी शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो। 

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका माधवकुमार नेपाल पक्ष सहभागी छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। सर्वोच्च अदालतले सोमबार देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।

सोहीअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। देउवाले विश्वासको मत पाएपनि गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि प्रधानमन्त्री नियुक्त भएको दुई साता बितिसक्दापनि उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।