देशभर अघि बढ्याे खाेप अभियान, काठमाडौंमा मात्रै ६६ खोप केन्द्रबाट लगाइँदै

देशभर अघि बढ्याे खाेप अभियान, काठमाडौंमा मात्रै ६६ खोप केन्द्रबाट लगाइँदै

 बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा खोप अभियान सुरु भएको छ । आज अर्थात १४ गतेदेखि १८ गतेसम्म चल्ने खोप अभियानमा ५० वर्ष उमेर वा सोभन्दा माथि उमेर समुहका नागरिकहरुले भेरोसेल खोपको पहिलो डोज लगाउन पाउनेछन् ।

काठमाडौं जिल्लामा मात्रै ११ स्थानीय तहका ६६ वटा खोप केन्द्रमार्फत खोप लगाइदैछ । यस्तै भक्तपुर र ललितपुरमा पनि सबै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन भएको छ ।

खोप लगाउन पाउने समुहमा नेपाल सरकारले अत्यावश्यक सेवा क्षेत्र तोकेका चालक, सहचालक, प्राध्यापक, शिक्षकलगायतले तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने छन् ।

अत्यावश्यक सेवा क्षेत्रका कर्मचारीहरुले राधस्वामी आईसोलेसन सेन्टर बालजु, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बिर अस्पताल रत्नकपार्क, शिक्षण अस्पताल महाराजगञ्ज र निजामति कर्मचारी अस्पताल बानेश्वरमा गएर खोप लगाउन सक्ने छन् ।

यस्तै खोप अनिवार्य गरिएका देशहरुमा जाने नागरिकले बिरेन्द्र सैनिक अस्पताल, छाउनी र नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा  खोप लगाउन पाउँनेछन् ।

खोप लगाउनका लागि नागरिकताको प्रमाण पत्र, आफ्नो कार्यक्षेत्र अथवा अत्यावश्यक सेवा क्षेत्र खुलाउने परिचय पत्र र खोप अत्यावश्यक गरिएको देशमा जानेले भिसा र पासपोट लगेर खोप केन्द्रमा जानु पर्नेछ । 

काठमाडौं उपत्यकासँगै देशभर खोप अभियान जारी रहेको छ । बुधबारको तथ्यांक अनुसार ३५ लाख ४४ हजार ४३ जनाले एक डोज खोप र १५ लाख ३ हजार ३१२ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

तोकिएको लक्षित समुहलाई तोकिएको आधारमा मात्रै खोप लगाउन निर्देशन दिइएको स्वास्थ्य निर्देशनालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले बताएका छन् । १८ गतेपछि भेरोसेलको दोस्रो चरणको खोप अभियान अघि बढाउने स्वास्थ्य निर्देशनालयको तयारी रहेको छ ।