औषधि खरिदमा ‘हिनामिना’

औषधि खरिदमा ‘हिनामिना’

 सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य चौकीहरूमा सामान्य प्रकृतिका औषधि समेत छैनन् । पालिकाले आर्थिक वर्ष २०७७/७८ मा खरिद गरेको औषधि भने थन्किएको छ । गाउँपालिकाले गुणस्तरहीन खरिद गर्दा प्रयोग हुन नसकेको हो ।

गाउँपालिका अध्यक्ष हेमन्तकुमार बहरखेर र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहबीचको विवादले गत आर्थिक वर्षको अन्त्यमा विकास कामका भुक्तानीसमेत रोकिएको बेला औषधि खरिदमा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा १८ लाख रुपैयाँ बराबरको औषधि खरिदको टेन्डर गरेको थियो । सिरहाको एक स्थानीय पत्रिकामा टेन्डर छापेर कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयसहितका नियामक निकायका प्रतिनिधिसमेत नराखी प्रमुख प्रशासकीय अधिकृत साहले टेन्डर स्वीकृत गरेकी थिइन् ।