वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व बाघ संरक्षण दिवसका अवसरमा राष्ट्रिय बाघ संरक्षण समितिद्वारा ललितपुरको खुमलटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अव्यवस्थित पूर्वाधार निमार्णका कारण वन्यजन्तुको स्वाभाविक विचरणमा समस्या हुने गरेको भन्नुहुँदै वन्यजन्तु मैत्री पूर्वाधार निमार्णमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले पर्यापर्यटनमार्फत स्थानीय जनताको आयआर्जनमा समेत वृद्धि हुने भएकाले बन र  वन्यजन्तुको दिगो संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले सबैको साथ र सहयोगले बाघको संरक्षण सम्भव भएको बताउनुहुँदै यो अभियानमा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बाघ र मानवबीच बेला बेलामा द्वन्द्व उत्पन्न हुने गरेकोले बाघको बसोबास क्षेत्र अतिक्रमणबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसारबाट बाघ हेर्न मानिसहरू आउने भएकोले पर्यटन प्रबद्र्धनमा पनि बाघको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो कार्यकालमा वातावरण संरक्षणमा महत्त्वपूर्ण कामहरू भएको बताउनुभयो । उहाँले आफ्नो मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूका कारण आफु सफल भएको बताउनुहुँदै  सरकार विस्तार गर्दा विशेष ध्यान दिन प्रधानमन्त्री देउवालाई सुझाव दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बाघ संरक्षणमा नेपालले ऐतिहासिक सफलता पाएको बताउनुभयो । कार्यक्रममा बन तथा वन्यजन्तु संरक्षणमा काम गर्ने सरकारी तथा गैर सरकारी सङ्घ संस्था एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।