बाजुराको प्याज गन्हाउने बजार नपाउदा किसान चिन्तित

बाजुराको प्याज गन्हाउने बजार नपाउदा किसान चिन्तित

गहुँ फल्ने खेतमा प्याज लगाउँदा फाइदा हुन्छ भनेर यो वर्ष प्याज रोपियो । प्याज अचाक्ली गरी फल्यो । घरभित्र राख्ने ठाउँ नभएर गाई बाँध्ने गोठ पनि भरियो । नजिकैको बजारमा लैजाउँ भने गाउँले सबैले प्याज लगाएका छौं । टाढा लिएर जाउँ भने बाटो नै छैन’, स्वामीकार्तिक खापर गाउँपालिका–१ का हंशबहादुर बिकले गुनासो पोखे ।

बिकले थप भने, ‘अन्न भएको भए केही भकारीमा राख्थ्यौं । केही खान्थ्यौं । तर, प्याज खानाका रुपमा खान पनि नमिल्ने । गहुँ फल्ने खेतमा प्याज रोपेर फर्साद भयो । अब समयमा नै बजार पु¥याइएन भने डुबिने भएको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत आर्थिक वर्षमा स्वामीकार्तिक खापर गाउँपालिका–१ बाउँनीलाई प्याजको पकेट क्षेत्रका रुपमा विकस गर्ने कार्यक्रम आएपछि गाउँलेले प्याज भण्डारण र गाउँमा रहेको १२ हेक्टर जमीनमा प्याज खेती लगाएका थिए । प्याज सोचे भन्दा धेरै उत्पादन भएपछि भण्डारणको समस्याले कुहिन थालेपछि पूरै गाउँ नै प्याज गन्हाउने भएको छ ।

गाउँका एक दुई जनाले मात्र होइन, पूरै ४० परिवारले प्याज खेती गरेका छन् । ‘अन्न फल्ने खेतभरी प्याज लगाएका थियौं । धेरै फल्यो बजारीकरणको समस्या भएको छ । गाउँमा धेरै प्याज कुहिएको छ । बाँकी रहेको प्याज समेत कुहिने होकी भन्ने चिन्ता बढेको छ’, अर्का किसान सतल बिकले भने ।

‘गाउँमा प्याज खेती गरेर आम्दानी हुने अभियान सञ्चालन गरियो । अभियान अनुसार प्याज पनि फल्यो तर, प्याज बजारमा लैजान नसकी कुहिन लागेको छ । लकडाउन अगाडि घरमा राख्ने ठाउँ नभएर स्कुलमा राख्यौं । तर, अहिले स्कुल सञ्चालन भएपछि कहाँ राख्ने भन्ने चिन्ता थपिएको छ’, रमेश बिकले भने ।

‘गाउँमा सबै भन्दा बढी मैले प्याज फलाएको थिएँ । खेतबाट बोकेर घर पु¥याइयो । ६० क्विन्टल प्याज घर पु¥याउँदा घरमा राख्ने नै ठाउँ भएन । स्कुलमा लगेर केही दिन सुकाइयो । आधा भन्दा बढी सुकाउने ठाउँ नभएर कुहिएर खेर गयो । पैसा समाउने बेला आफ्नो सम्पति कुहिदा मन सारै रोएको छ । गाउँ भरी प्याज कुहिएर गन्हाउने भएको छ’, दीपक बिकले गुनासो पोखे ।

स्वामीकार्तिक खापर गाउँपालिकाको कृषी शाखा संयोजक नरेश कुमार रोकाका अनुसार प्याजको एउटै दाना एक केजी सम्मको रहेको छ । उनले भने, ‘हामीले सोचे भन्दा धेरै प्याज फलेको छ । गाउँमा सुकाउने ब्यवस्थापन नहुँदा सडेर गाउँनै गन्हाउने भएको छ । हामीले जिल्लालाई खबर गरेका छौं, केही दिनमा समाधान होला ।’

ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले किसानले सोचे भन्दा बढी प्याज उत्पादन भएको बताए उनले भने, ‘त्यसको ब्यवस्थापनका लागि हामीले ढुवानी प्रबन्ध मिलाई रहेका छौं । वर्षातका कारण बाटो बिग्रेर ल्याउन सकिएको छैन । अब बाटो नखुलिन्जेलसम्म खच्चरबाट समेत ढुवानी गर्ने कि भन्ने योजना बनाइरहेका छौं । किसानको समस्या सम्बोधन गर्ने तयारीमा छौं ।’