अमेरिकाको अलास्कामा ५० वर्षयताकै शक्तिशाली भूकम्प, सुनामीको चेतावनी भने हट्याे

अमेरिकाको अलास्कामा ५० वर्षयताकै शक्तिशाली भूकम्प, सुनामीको चेतावनी भने हट्याे

अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ ।

अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । अलास्काको सबैभन्दा ठूलो कोडियक नगरका मेयर प्याट ब्रानससले अहिलेको भूकम्प सन् १९६४ यताकै शक्तिशाली भएको बताउनुभएको छ ।

मियामीको वायुमण्डल विज्ञान विभागका विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी ब्रायन म्याकोल्डिले उत्तर अमेरिकामा ८ दशमलव ७ रेक्टर स्केलको भूकम्पपछि आजको भूकम्प सबैभन्दा ठूलो भएको बताउनुभएको छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् ।

भूकम्पको केही समयपछि समुद्रमा ठूला छाल आएपछि सुनामीको चेतावनी जारी गर्दै नागरिकलाई अग्लो ठाउँका सार्वजनिक भवनमा राखिएको थियो । समुद्रमा एक फिटभन्दा अग्लो गरी छाल आउने क्रम रोकिएपछि सुनामीको चेतावनी भने हटाइएको छ । तर तटीय क्षेत्र र सामुद्रिक टापुका हजारौँ नागरिक सुनामीको डरले उच्च भागमा पुगेका छन् ।

अझै ठूला परकम्प आउन सक्ने भएकाले सतर्क भएर बस्न अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र र राष्ट्रिय सुनामी चेतावनी केन्द्रले आग्रह गरेका छन् ।