६० हजार विद्यार्थी शिक्षाबाट वञ्चित

६० हजार विद्यार्थी शिक्षाबाट वञ्चित

 कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै विद्यालय बन्द हुँदा सल्यानका ६० हजार विद्यार्थी प्रभावित भएका छन् । नयाँ शैक्षिक सत्र सञ्चालन भएको तीन महिना पुगिसक्दा समेत विद्यालय सञ्चालन हुन सकिरहेको छैन ।

विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने भनिए पनि पहाडी जिल्ला भएकाले सफल हुन सकिरहेको छैन । सदरमुकामसमेत रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भए पनि जिल्लाका अधिकांश विद्यालय बन्द नै रहेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा जिल्लाका ५ सय विद्यालयका ६० हजार विद्यार्थी घरायशी कामकाज तथा मजदुरीमा व्यस्त हुँदै आइरहेका छन् । वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने योजना भए पनि सबै ठाउँमा फोन नलागेकाले पढाइ रोकिएको दार्मा गाउँपालिका–३ फारुलाको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनराज वलीले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘गतवर्ष त टोल–टोलमा गएर पढाउने व्यवस्था गरेका थियौं तर यो वर्ष अहिलेसम्म केही गर्न सकिएका छैनौं ।’

कुमाख गाउँपालिका–३ रोगेचौरको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरख बुढाथोकीका अनुसार सामुदायिक विद्यालयमा अधिकांश विपन्न बालबालिकाले अध्ययन गर्ने र सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको हो । उहाँ भन्नुहुन्छ– ‘कोरोना संक्रमण फैलने जोखिमका कारण विद्यालय खोल्न सकेका छैनौं । विद्यालयमा रहेका ७ सयभन्दा बढी विद्यार्थीलाई पढाउन समस्या भइरहेको छ ।’

शाारदा नगरपालिका–१ शीतलपार्टीमा रहेको शिव जनमाध्यमिक वद्यालयले भने अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ । कक्षा ६ देखि १० सम्म अनलाइनको माध्यमबाट कक्षा सञ्चालन भइरहेको प्राधानाध्यापक हीरालाल नेपालीले बताउनुभयो । अनलाइन कक्षा सञ्चालन गरेको भए पनि जम्मा विद्यार्थीको झन्डै ३० प्रतिशत विद्यार्थी मात्र अनलाइनको पहुँचमा रहेको र अन्यलाई जोड्ने प्रयास भइरहेको उहाँले बताउनभयो ।