खाल्डोमा जिप खस्दा चालकको मृत्यु, पाँच जना घाइते

खाल्डोमा जिप खस्दा चालकको मृत्यु, पाँच जना घाइते

धनुषाको सपहीमा निर्माणाधीन पुलको खाल्डोमा शुक्रबार बिहान जिप खस्दा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । लोहारपट्टी नगरपालिकाको जिप बिहान ५ बजे दुर्घटनाग्रस्त भएको हो । 

ढल्केबरबाट जनकपुरतर्फ तीव्र गतिमा आउँदै गरेको जिप डाइभर्सनबाट नगई अनियन्त्रित भएर पुलको खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका–९ का ४५ वर्षीय चालक दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरका इन्स्पेक्टर तिलक सुनारले बताए । दुर्घटनामा चालककै परिवारका चार जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । घाइते पाँचजनाको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।