एमसीसी सभाबाट अनुमाेदन नै भएकाे छैन, कसरी कार्यान्वयन हुन्छ ? : भीम रावल

एमसीसी सभाबाट अनुमाेदन नै भएकाे छैन, कसरी कार्यान्वयन हुन्छ ? : भीम रावल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गर्नुभएको छ । 

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरि संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिनुभयो । उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरीत रहेको, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको हित विपरीत रहेकाले त्यसलाई संशोधन नगरि अघि बढाउन नमिल्ने बताउनुभयो ।

उपाध्यक्ष रावलले भन्नुभयो, एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेस गर्नुपर्दछ । नागरिकले त्यस सम्झौतामा उल्लेख भएका सबै विषय थाहा पाउनुपर्दछ । प्रतिनिधि सभाका प्रत्येक सदस्यले त्यो थाहा पाउनुपर्ने अधिकार छ ।

त्यहाँ भएका नेपालको हित, स्वाधीनता, स्वतन्त्रता, स्वभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिका प्रावधान परिवर्तन नभइ त्यो सम्झौता गरियो भने राष्ट्रघात हुनेछ । नेपाली नागरिकले विगतमा पनि असमान सन्धिका कारण बेहाेर्नुपरेकाे पीडाको फेरप पुनरावृत हुनेछ । त्यसका रहेका सम्झौता संशोधन गरेर मात्रै पारित गर्नुपर्दछ ।

उपाध्यक्ष रावलले विकासका नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनै पनि देशलाई सुम्पिन नसकिने अडान दोहोर्‍याउनुभयाे । नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाइन्छ तर त्यो हाम्रो संविधान र स्वतन्त्र परराष्ट्र नीतिअनुसार हुनुपर्दछ भन्दै उपाध्यक्ष रावलले याे सम्झौतामा राखिएका कतिपय प्रावधान नेपालको हितमा नरहेको पटक–पटक दोहोर्‍याउनुभयाे ।