तुईनबाट खस्दा एक जना बेपत्ता, शिलान्यास भएको २ वर्षसम्म पनि बनेन् पुल

तुईनबाट खस्दा एक जना बेपत्ता, शिलान्यास भएको २ वर्षसम्म पनि बनेन् पुल

दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दका अनुसार शुक्रवार बिहान ८ बजेतिर ६÷७ जना जिल्ला सदरमुकामका लागि भारतको बाटो भएर आउने क्रममा धामी तुइनबाट खसेर बेपत्ता भएका हुन् । स्थानीयका अनुसार भारतीय सुरक्षा बल (एसएसबी) तुईन काट्न आउने क्रममा धामी तुईनको तारसँगै तानिएर महाकालीमा बेपत्ता भएका हुन् ।

‘तुईन तरेर ब्याँसका केही स्थानीय पारी पुगिसकेका थिए, धामी तुईन तर्दै गर्दा महाकालीमा बेपत्ता भएको एक स्थानीयले बताए ।’ एसएसबीले तुईन काटिदिएकाले ताक्लो सहित महाकाली नदीमा खसेको बिक्रम रोङकलीले बताए । बेपत्ता धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच ब्याँसका स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई घटनाको सत्यतथ्य जाँच र पुल निर्माणमा भइरहेको ढिलाइबारे ज्ञापन दिएका छन् । शिलान्यासको २ वर्षसम्म पनि बनेन् पुल सरकारको तुईन विस्तापन कार्यक्रम अन्तर्गत ब्याँस क्षेत्रमा तीन ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने सहमति भयो ।

भारतको गँस्कु र ब्याँस गाउँपालिकाको माल, भारतको गा्रम सोसा र ब्याँस गाउँपालिकाको मलघट्टे, भारतको एलागाड र ब्याँस गाउँपालिकाको बडुगाउँ पुल निर्माणका लागि नेपाल र भारतबीच १७ डिसेम्बर २०१८ मा सहमति भएको हो । सहमति भएको तीन वर्षमा समेत पुल निर्माणको काम सुरु हुन सकेको छैन् ।

नेपाल तर्फ ब्याँस गाउँपालिका वडा नम्बर २ माल, वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर ६ बडूगाउँमा २०७६ कार्तिक महिनामा पुलहरुको शिलान्यास समेत गरियो । शिलान्यास गरेको दुई वर्ष बितेपनि काम सुरु हुन सकेको छैन् । त्यही वर्ष शिलान्यास भएको बडूगाउँ–कालागाड जोड्ने पुल निर्माण सम्पन्न भई संचालनमा ल्याउने तयारी छ ।

तर सँगै शिलान्यास भएका पुलहरुको निर्माण कार्य ठेकेदारको लापरवाहीका कारण अगाडी बढ्न सकेको छैन् । उक्त पुल निर्माणको ठेक्का धन बहादुर कुँवरले पाएका छन् । नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुंगे पुल निर्माणको ठेक्का भई शिलान्यास समेत भएपनि हालसम्म पुल निर्माण हुन नसक्दा तुईनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय नरेन्द्र सिंह धामीको गुनासो छ ।

नेपालपट्टी सहज बाटोघाटो नहुदा ब्याँस क्षेत्रका बासिन्दाहरुले खलंगा आउनका लागि भारतको बाटो हुदै महाकाली नदीमा तुइन तरेर आउनु पर्ने बाध्यता छ ।