काठमाडौंका सुजनको लाइसेन्स नविकरण गराउन वीरगंज जादा हत्या गरियो, लुटपाट मुख्य कारण

काठमाडौंका सुजनको लाइसेन्स नविकरण गराउन वीरगंज जादा हत्या गरियो, लुटपाट मुख्य कारण

वीरगंजमा लाइसेन्स नविकरण गराउन आएका काठमाडौंका एक युवकको हत्या भएको छ। काठमाडौंको गोंगबुका २९ वर्षीय सुजन पाख्रिनको हत्या भएको हो।

उनले लगाएको सुनको औठी र सिक्री गरी करिब ८/१० तोला सुनको गहना लुटपाट गर्न हत्या गरिएको पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुधवार दिउँसो काठमाडौंबाट वीरगंज आएका सुजन बिहीवार बिहान ३ बजे वीरगंज-५ रामटोलस्थित सडक छेउमा गम्भीर घाइते तथा अचेत अवस्थामा फेला परेका थिए।

उनका साथीहरुले उनलाई घाइते अवस्थामा देखेर प्रहरीलाई खबर गरेपछि नारायणी अस्पतालमा उपचारको लागि लगिएको थियो। तर, अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए। बुधवार सुजन आफ्ना साथीहरुसँग अबेर रातिसम्म बियर खाएको र राति १२ बजे बियर सकिएपछि उनी बियर लिन बा २ ज ५७८५ नम्बरको कार लिएर वीरगंज बजारमा एक्लै निस्केका थिए।

लामो समयसम्म फिर्ता नआएपछि उनको साथीहरुले नै खोजी कार्य गर्दा उनी सिकिस्त अवस्थामा फेला परेका थिए। उनको घाँटीमा निलडाम थियो।

साथै, उनले लगाएको सुनको गहना पनि थिएन। प्रहरीले उनको हत्याको अभियोगमा उनका ६ जना साथीहरुलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा-२५ का २७ वर्षीय मनोज कार्की, मकवानपुरका कुमारसिंह पाख्रिन, वीरगंज-७ का २७ वर्षीय विक्की लामा, सोही स्थानका विक्की साह र बाराको फेटा गाउँपालिका-३ का २७ वर्षीय धनन्जय रजक रहेका छन्। प्रहरीले शुक्रवार साँझसम्म हत्याको विस्तृत विवरणसहित जानकारी गराउने जनाएको छ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भने, ‘अनुसन्धानको अन्त्य तिर छौँ। मुख्य लुटपाटकै लागि हत्या भएको जस्तो देखिएको छ, पक्राउ परेकाहरुले पनि स्वीकार गरिसकेका छन्।’