चीनको नाञ्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलियो

चीनको नाञ्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलियो

चीनको नाञ्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिएको छ । नाञ्जिङमा भाइरस फेला परेपछि अरु पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको छ । विज्ञले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा खराब अवस्थाको संज्ञा दिएका छन् ।

गएको जुलाई २० मा नाञ्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् । सङक्रमण फैलिएका सहरमा व्यापक परीक्षण सुरु भएको छ । सहरका ९३ लाख बासिन्दा र आगन्तुकको परीक्षण गरिने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

कोरोना भाइरसको अतिसङ्क्रामक डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिएको हो । भाइरस चङ्दु र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ । अहिले प्रारम्भिक चरण भएकाले नियन्त्रण गर्न सकिने विज्ञहरूले बताएका छन् ।

सरकारी निकायले परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेका छन् । सङ्क्रमण भएका व्यक्तिले खोप लिएका थिए कि थिएनन् स्पष्ट भइसकेको छैन ।