कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल

कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल

महाधिवेशन नजिकिँदै जाँदा सभापतिको दावेदार नेपाली कांग्रेसका तीन नेताबीच शनिबार पनि भेटवार्ता भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमै पुगेर भेटवार्ता गरेका हुन् ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका छन् । उनीहरुबीचको कुराकानीबारे केही सार्वजनिक गरिएको छैन ।

सिंहका स्वकीय सचिव युपी लामिछानेले भने राष्ट्रिय राजनीति र महाधिवेशनका विषयमा तीन नेताबीच छलफल भएको बताएका छन् । उनीहरूबीच संवैधानिक बाध्यतालाई ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने र सबै नागरिकलाई खोपको सुनिश्चितताका लागि सरकारले ध्यान दिनु पर्नेलगायतका विषयमा छलफल भएको लामिछानेले जानकारी दिए ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।