निषेधाज्ञा २४ गतेसम्म थप

निषेधाज्ञा २४ गतेसम्म थप

डोटीमा कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि साउन २४ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको उल्लङ्घन गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश,–२०७८ र स्थानीय प्रशासन ऐन–२०२८ बमोजिम कारबाही गरिने निर्णयसमेत गरिएको निमत्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

जिल्लामा वैशाखदेखि गरिएको निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौंपटक हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाभित्रका आन्तरिक सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने, पसलहरु बिहान ६ बजेदेखि राति ८ बजेसम्म खोल्नका लागि अनुमति दिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिने भएको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेस्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जिम हल सञ्चालन गर्न भने नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।