भुटानले नेपालाई ३ लाख डोज कोरोना खोप दिने, ६५ वर्ष माथिका नागरिकका लागि दोस्रो डोजको रूपमा प्रयोग गरिने

भुटानले नेपालाई ३ लाख डोज कोरोना खोप दिने, ६५ वर्ष माथिका नागरिकका लागि दोस्रो डोजको रूपमा प्रयोग गरिने

नेपाललाई भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो ।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत ५ लाख मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका, क्रोएसिया, बुल्गेरिया र अन्य केही मुलुकबाट अस्ट्राजेनेकाकै एक लाख, कोभ्याक्स सुविधाअन्तर्गत सिनोफार्मको ५० हजार डोज भित्रिएको थियो । 

आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि उब्रिएको करिब ३ लाख डोज नेपाललाई सहयोग गर्न भुटानले चाहेको सरकारी अधिकारीहरुले जनाएका छन् । ।

फागुन अन्तिम साता कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्ष र त्योभन्दा बढी उमेरका नागरिकका लागि उक्त खोप दोस्रो डोजका रूपमा प्रयोग गर्न सकिने सीसीएमसीले सरकारलाई सुझाएको छ । 

ज्येष्ठ नागरिकले अस्ट्राजेनेकाको पहिलो डोज खोप लगाएको साढे ४ महिना भइसकेको छ । भारतबाट प्राप्त अस्ट्राजेनेकाको खोपको पहिलो डोज पाए पनि पछि भारतीय सर्वोच्च अदालतले निर्यातमा रोक लगाएपछि र त्यहाँ संक्रमण तीव्र फैलिएपछि दोस्रो डोज आउन नसकेको हो । 

सरकारले फागुन अन्तिम साता करिब १४ लाख ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेकाको पहिलो डोज खोप लगाएको थियो । भुटानबाट ३ लाख डोज आउने भए पनि अझै ११ लाख डोज आवश्यक पर्छ । 

त्यसका लागि टोकियो ओलम्पिक सकिएपछि जापानबाट खोप व्यवस्थापन हुने सरकारी अधिकारीले जनाएका छन् ।