दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन । तुइनको भरमा भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जान बाध्य नेपाली युवा बेपत्ता भएको विषयमा सरकार आन्तरिक छानबिनमै छ । घटना कसरी भयो छानबिनमै रहेको भन्दै सरकार अझै मौन छ ।

भारतीय सीमा सुरक्षा बलकै कारण नेपाली युवा महाकालीमा बेपत्ता हँुदासमेत भारतलाई ध्यानाकर्षण गर्न सकिरहेको छैन । न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य अनुसन्धान गर्न र एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेका छन् । नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

स्थानीयले कारबाही गर्न माग गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र पठाउँदै घटनाको छानबिन गर्न आग्रह गरेको छ । प्रशासनले पनि तुइनको डोरी खोल्न खोज्दा दुर्घटना भएको बेहोराको पत्र पठाएको छ । जबकि एसएसबीले तुइन काटेको फोटो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

तुइनबाट महाकाली नदीमा खसेर युवक बेपत्ता भएको घटना छानबिन गर्न तीनवटा सुरक्षा निकायका अधिकारी घटनास्थलमा गएका छन् । सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला घटनाबारे छानबिन गर्न सरकारले गृहचसचिवको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको छ । तर, परराष्ट्र मन्त्रालय तहबाट अहिलेसम्म घटनाबारे छानबिनका लागि भारतसँग आग्रह नभएको परराष्ट्रका एक अधिकारीले बताए ।

घटनाको विषयमा विस्तृत छानबिन गरेपछि मात्रै भारत सरकारसँग वा दिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसँग कुराकानी गर्ने तयारी भइरहेको ती अधिकारीले जानकारी दिए । ‘घटनाबारे सत्यतथ्य यकिन पत्ता लागेपछि मात्रै भारतसँग संवाद गर्ने तयारी छ,’ ती अधिकारीले भने, घटनाको विषयमा छानबिनपछि मात्रै सरकारले धारणा राख्नेछ ।’ घटनाको विषयमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावाससँग हालसम्म छलफल नगरेको बुझिएको छ । हाल परराष्ट्रमन्त्री नभएकाले त्यसको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले लिने गरेका छन् । घटना लगतै गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री देउवालाई जानकारी गराएपछि गृह सचिवको नेतृत्वमा छानबिन समिति बनेको हो । छानबिन समितिले प्रधानमन्त्रीलाई घटनाको यथार्थ प्रतिवेदन नबुझाएसम्म सरकार सो घटनामा मौन बस्ने देखिएको छ ।

महाकाली नदीमा बेपत्ता युवाको विषयमा राजनीतिक दलहरू अझै मौन देखिए पनि नेताहरूले भने आफ्नो व्यक्तिगत धारणा राखेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर भत्र्सना गरेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न भनेका छन् ।

त्यस्तै, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाको सरकारले छानबिन गर्नुपर्ने बताएका छन् । उनले भारत सरकारलाई सो घटनाको संलग्नलाई कारबाही गर्नका लागि ध्यानाकर्षण गराएका छन् । सरकारले भारतसँग सो विषयमा कुरा उठाउन र ध्यानाकर्षण गर्न भनेका छन् ।