धनगढी । नेपाल भारतका सीमा अधिकारीहरुको बैठक आजबाट दार्चुला सदरमुकाम खलंगामा शुरु भएको छ । बैठकमा बैतडी, दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरु सहभागि छन् ।
बैठकमा नेपालकोतर्फबाट १३ तथा भारतको तर्फबाट ११ वटा एजेण्डामा छलफल गरिने बताइएको छ ।
नेपालकातर्फबाट अघिल्लो बैठकको समिक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, बंगाबगड खोतिला पहिरो, मानव वेचबिखन, अवैध सामान ओसारपासार जोडीबुडी ओसारपसार, लागू पदार्थ ओसार पसार नियन्त्रण, विपदमा खोज उद्धार तथा राहत, धौलीगंगा बाध खोल्ने समय, प्रस्तावित झोलुंगे पूलहरुको सहमतिबारे, दुइपक्षीय समन्वय, सूचना आदान प्रदान नियमित गर्ने, तथा अन्य विविध विषयमा छलफल हुने उल्लेख गरिएको छ ।
दार्चुलाकातर्फबाट बैठकको नेतृत्व प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले गर्नुभएको छ । यस्तै बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी भारत पिथौरागढ जिल्ला अधिकारी सि रविशंकरले सहभागि छन् ।
यस्तै भारतीय पक्षले सीमा सम्बन्धी अपराध, अवैध नसालु पदार्थ ओसार पसार, मानव वेचबिखन, अवैध सिकार, पारस्परिक सुरक्षा, नक्कली नोट, सीमा क्षेत्रमा हुने आइएसका गतिविधि, सीमा क्षेत्रका प्रहरीहरु बीचको समन्वय, दुवै क्षेत्रमा गस्ती, बंगाबडको पहिरो नियन्त्रण, प्रस्तावित पूलहरु सूचना आदान प्रदान लगायतका एजेण्डा प्रस्तुत गरिएको छ