वैज्ञानिकहरूले बनाए पानीबाट ‘सुन’

वैज्ञानिकहरूले बनाए पानीबाट ‘सुन’

चेक गणतन्त्रको राजधानी प्रागमा वैज्ञानिकहरूले पानीलाई सुन जस्तो चम्किलो धातुमा परिणत गर्न सफलता पाएका छन् । 

उनीहरूले इलेक्ट्रोन साझा गर्ने क्षारयुक्त धातुमा पानीको पातलो पत्र बनाएर यस्तो सफलता पाएका हुन् । 
पानी धातुको अवस्थामा केही सेकेन्ड मात्र बसेको थियो ।

प्रागस्थित चेक एकेडमी अफ सायन्सेजका भौतिक रसायनशास्त्री पाभेल युङवर्थका अनुसार, पानीले सुनको जस्तो चमक पाउनु आफ्नो करीयरको महत्त्वपूर्ण उपलब्धि हो । 

अनुसन्धान टोलीले आफ्ना निष्कर्ष नेचर पत्रिकामा गत बुधवार प्रकाशन गरेको छ । 

सिद्धान्ततः अधिकांश पदार्थहरू पर्याप्त दबाब दिएपछि मात्र धातु बन्छन् । अणु वा मोलिक्युलहरूलाई कडासँग दबाब दिँदा उनीहरूले आफ्नो बाहिरी इलेक्ट्रोन साझा गर्न थाल्छन् र त्यसबाट विद्युतीय गतिविधि हुन थाल्छ । बृहस्पति र शनि जस्ता ठूला ग्रहको केन्द्रमा यही धातुको अवस्थामा पानी भण्डारण रहेको विश्वास भूभौतिकशास्त्रीहरू गर्छन् । 

तर पानीलाई यसरी धातुमा परिणत गर्नका लागि एक करोड ५० लाख एट्मोस्फियरको दबाब आवश्यक पर्छ । अहिलेको प्रयोगशाला प्रविधिले यसो गर्न सक्दैन । 

तर क्षार धातुबाट इलेक्ट्रोन सापटी मागेर पानीलाई धातु बनाउने वैकल्पिक उपाय पनि पत्ता लागेको छ ।