पानी परेको छैन तर पनि सिन्धुपाल्चोकमा बाढी रोकिएन

पानी परेको छैन तर पनि सिन्धुपाल्चोकमा बाढी रोकिएन

 सिन्धुपालचोकको मेलम्चीमा पटकैपिच्छे बाढी गइरहनु मुसलधारे वर्षामात्रै कारण नभएको विज्ञहरुको प्रारम्भिक निष्कर्ष छ । 

सिन्धुपालचोकको माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

उनीहरुले चनौटे बजार, टिम्बु, नाकोटे, घ्याङफेदी, हेलम्बु र भ्रेमाथाङ र आसपासका क्षेत्रको भौगोलिक अध्ययन गरेका थिए । 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् प्राधिकरणले १ असारमा मेलम्चीमा बाढी गएपछि विज्ञ टोली बनाएर सिन्धुपालचोकको बाढी र पहिरोग्रस्त क्षेत्रको अध्ययन गरेको थियो । 

उक्त टोलीले रुख नकाटे पनि, डोजर नचलाए पनि माटो कमसल हुँदा विभिन्न कारणले भूक्षय हुने र त्यसले मेलम्चीको जस्तो विपति ल्याएको निष्कर्ष निकालेको छ ।

हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार मेलम्चीको मुहानको माथि पहिला हिमनदीले ल्याएको थेग्रिनी  छ । 

त्यही ग्रेगानबाट बनेको चौर कमजोर भएर बगेपछि सबै तल्लो तटीय क्षेत्रमा असर पुर्‍याएको हो । १ असारमा जस्तै शनिबार राति शिरबाट ढुंगा, माटो, रुख बिरुवासहितको लेदो आएर चनौटे क्षेत्रमा घर र पुल बगाएको थियो । 

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सिन्धुपालचोकमा थुप्रिएको थेग्रिनी हिमाली क्षेत्रकै सबैभन्दा ठूलो थेग्रिनीमध्येको एक रहेको बताए  । 

उनले भने, “यो गेग्रानको असर तल दोलालघाट र त्यसको आसपासको क्षेत्रमा समेत पर्न सक्छ । बाढीले थेग्रानी कति ल्यायो भन्न नसके पनि जियोलोजिस्टको भाषामा यो खतराको सूचक हो ।” 

हाइड्रोलोजिस्ट डा। विष्णु पाण्डेका अनुसार इसिमोडको सन् २०११ को अध्ययनले मेलम्चीको हिमाली भागमा ४ वटा हिमताल देखाउँछ । 

“तर त्यो फुटेको देखिन्न । त्यसमाथि सुक्ष्म अध्ययन हुन जरुरी छ । अनि मात्र केही भन्न सकिन्छ । मेलम्ची खोलाको स्लोप बढी छ, जसले त्यहाँ थोरै पानी पर्दा पनि त्यसको गति र ऊर्जा बढी हुन्छ, सम्भवतः यही कारणले शनिबार थोरै पानी पर्दा पनि बाक्लो लेदो बाढी गएको हुनसक्छ,” उनले भने ।

खानी तथा भूगर्व विभागका उपसचिव शिवकुमार बाँस्कोटाले भने, “कसरी ती ठाउँमा गेग्रान थपियो थाहा भएन, सम्भवतः नदीले सतहमा थुपार्‍यो र पहिरोले थुनियो । अहिले वर्षामा निस्क्यो । चनौटे क्षेत्रमा अझै कटान जारी छ ।”

प्राधिकरणबाट गएको विज्ञ टोलीले आज पनि त्यहाँ गएर अध्ययन गर्ने जनाएको छ ।  हिजो मौसम सफा नहुँदा टोलीले हेलिकोप्टरबाट मात्र निरीक्षण गरेको थियो । 

बाढी र पहिरोले अहिलेसम्म कति क्षति गर्‍यो भन्ने कुरा पनि प्राधिकरणले आकलन गर्न सकेको छैन । 

मेलम्ची आयोजना जोखिममा

सिन्धुपालचोकको भ्रेमाथाङमा गएको पहिरोले काठमाडौँ उपत्यकामाा पानी ल्याउन मेलम्ची आयोजनाको भविष्य जोखिममा परेको छ । 

विज्ञहरुले सिन्धुपालचोकको बाढी र पहिरो गएको क्षेत्र अवलोकन र स्याटलाइटले खिचेका तस्बिरहरुको हेरेर मूल्यांकन पछि यस्तो आकलन गरेका हुन् । 

भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो । 

मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरूले मेलम्ची खानेपानी आयोजनाको भविष्य संकटमा रहेको बताएका हुन् । 

मेलम्ची अवलोकन गरी आएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माकाअनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौँअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ । 

२०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ र अहिले त्यही थेग्रिनी बग्न थालेकाले आयोजनाको बारेमा सोच्नुपर्ने बताए । उनले भने, “भ्रेमाथाङमा थुप्रिएको थेग्रिनी झर्ने नै हो । अहिले पो मेलम्चीको टनेल बन्द छ, जान सकेन । टनेल खुलेपछि सबै झरिहाल्छ । त्यसैले मेलम्चीको भविष्य अध्ययन गर्नुपर्ने हुन्छ ।”