सवारी दुर्घटना घट्यो, मृत्यु बढ्यो

सवारी दुर्घटना घट्यो, मृत्यु बढ्यो

गत असार २ मा भक्तपुरको मध्यपुर थिमि चारदोबाटोस्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको लिखुपिके चौंरीखर्क घर भई हाल काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौंबाट भक्तपुर आउँदै गरेको उक्त मोटरसाइकलमा सवार काँडाघारीमै बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र २५ वर्षीय अमित जैरुगम्भीर घाइते भएका थिए । मोटरसाइकल अनियन्त्रित भएपछि सडकबीचको आइल्यान्डमा ठोक्किएर दुर्घटना भएको हो गत साउन ६ को राति भक्तपुरमै टिपरको ठक्करबाट स्कुटर चालक २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भयो । सूर्यविनायकबाट जगातितर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएका थिए ।
गएको शुक्रबार गोकेर्णेश्वर नगरपालिका–९ अत्तरखोलामा ट्रकको ठक्करबाट पैदलयात्री रामेछाप घर भई हाल गोकर्णेश्वर बस्ने ३० वर्षीय राजन खड्काको मृत्यु भयो । महानगरीय प्रहरी वृत बौद्धका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।
पछिल्लो पटक उपत्यकाका विभिन्न स्थानमा मानवीय क्षति हुने गरी भएका यी प्रतिनिधि दुर्घटना हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले जारी गरेको निषेधाज्ञामा पनि सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामा कमी आएको छैन । यस क्रममा सडकमा सवारी चाप घटे पनि दुर्घटनाको संख्या भने अपेक्षित रूपमा नघटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा उपत्यकामा ९ हजार ५ सय ४५ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ सय ६७ जनाले ज्यान गुमाए । जसमध्ये १ सय ३६ जना पुरुष, २४ जना महिला र ७ जना बालबालिका छन् । अघिल्लो वर्ष १० हजार ३० सवारी दुर्घटना भएका थिए । जसमा १ सय ५३ जनाको मृत्यु भएको थियो । यो संख्या अघिल्लो आवको भन्दा धेरै हो ।

गत वर्ष दुर्घटनामा २ सय २६ जना गम्भीर घाइते र ७ हजार ९५ जना सामान्य घाइते भएको महाशाखाको तथ्यांक छ । दुर्घटनामा परेका सवारीसाधनको संख्या १७ हजार ६३ छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार निषेधाज्ञाकै अवधिमा पनि उपत्यकामा दैनिक १२ देखि १५ वटासम्म सवारी दुर्घटना भइरहेको छ । ‘निषेधाज्ञामा सार्वजनिक सवारीमा पूर्ण रोक लगाउँदा उपत्यकामा दैनिक ४ देखि ५ वटाको हाराहारीमा दुर्घटनाहरू भएका थिए, अहिले १२ देखि १५ वटाको हाराहारीमा हुन्छन्,’ उनले भने, ‘सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति नै देखिइएको छ ।’

दासका अनुसार उपत्यकामा मोटरसाइकल दुर्घटनाको संख्या उच्च छ । गएको वर्ष उपत्यकामा ७ हजार ९ सय ४५ मोटरसाइकल दुर्घटना भएका छन् । अहिले सडक दुर्घटनाको मुख्य कारण सडकको भौतिक संरचनाभन्दा चालकको लापरबाही नै बढी देखिएको उनको दाबी छ । ट्राफिक नियम पालना नगरी सवारीसाधन हाँक्नेमा बढी युवाहरू नै भएकाले मोटरसाइकल दुर्घटना बढी भइरहेको उनले बताए ।