कञ्चनपुरमा ९८ हजार बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाए

कञ्चनपुरमा ९८ हजार बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाए

कञ्चनपुर । कञ्चनपुर जिल्लामा  ९८ हजार भन्दा बढी व्यक्तिले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार हिजो श्रावण १७ गते सम्म सञ्चालन गरिएको कोरोना विरुद्धका विभिन्न खोपहरूमा ९८ हजार ९ सय ८१ जनाले खोप लगाएका छन् । 

जस मध्ये भारतबाट ल्याइएको कोभिसिल्डको एक मात्र खोप लगाउने ३० हजार २ सय २४ जना रहेका छन् भने दोस्रो खोप लगाउने ६ हजार ७ सय ४० जना रहेका छन् । कोभिसिल्डको दोस्रो मात्र लगाउन २३ हजार ४ सय ८४ जना बाकी रहेका छन् । 

त्यसै गरी भेरोसिल खोपको पहिलो र दोस्रो मात्रा लगाउने ७ हजार ५ सय ६७ जना रहेका छन् भने एक मात्र खोप लगाएका ३८ हजार ८ सय ८६ जना रहेका छन् । त्यसै गरी जोनसोन एण्ड जोन्सन लगाउने १ हजार ५ सय ६४ जना रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभएको छ ।

उहाँले जिल्लामा केन्द्रबाट प्राप्त भएको खोप सबै पालिकाहरूलाई वितरण गरिएकोमा भीमदत्त नगरपालिकाले हिजो नै जोन्सन एण्ड जोन्सनको खोप लगाई सकेको भए पनि अन्य पालिकाहरूमा आज पनि खोप कार्यक्रममा सञ्चालनमा रहेको बताउनुभएको छ ।

उहाँले खोप लगाउनेमा ५० वर्ष भन्दा माथिका सबै नागरिक, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, जनप्रतिनिधि, व्यापारी,सवारी चालक, विदेश जाने युवाहरू लगायतका रहेको बताउनुभएको छ । 

सबै पालिकाहरूलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार खोप लगाउन परिपत्र गरे पनि केही पालिकाको खोप केन्द्रमा सामान्य मापदण्डको विपरीत खोप लगाउने कार्य भएको भन्ने गुनासो आएको भए पनि अन्य खोप केन्द्रहरूमा भने मापदण्ड अनुसार खोप लगाउने कार्य भएको प्रमुख सुनारले बताउनुभएको छ ।