आजदेखि उपत्यकामा निषेधाज्ञाको अनुगमन हुने, मास्क नलगाउनेलाई कारबाही गरिने

आजदेखि उपत्यकामा निषेधाज्ञाको अनुगमन हुने, मास्क नलगाउनेलाई कारबाही गरिने

कोभिड संक्रमण नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको उलंघन हुने क्रम बढेपछि स्थानीय प्रशासनले आजदेखि काठमाडौं उपत्यकामा अनुगमन गर्ने भएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञाको पालना भए नभएको अनुगमन सुरु गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरिएको उनले बताए।

‘कोभिडको संक्रमण घटेको छैन, तर सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा हुन क्रम बढ्दै गएको छ,’ प्रजिअ पराजुलीले नेपालखबरसँग भने, ‘संक्रमण नियन्त्रणको लागि बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक सवारी साधनलाई प्राथमिकतामा राखेर मंगलबार बिहानदेखि अनुगमन सुरु गरेका छौँ। अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही गरिने छ।’

सुरुमा मास्क नलगाएकाहरुलाई मास्क लगाउन र दुरी कायम गर्न प्रोत्साहन गरिने र अटेर गरेको पाइए कारबाही हुने उनले बताए। संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलिदेखि सकिँदैछ।  सरकारले उपत्यकामा पुनः निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ।

यस विषयमा आज बस्ने कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ। ‘भोलिसम्म उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको पनि बैठक बस्नेछ,’ प्रजिअ पराजुलीले भने, ‘त्यही बैठकबाट हामी निषेधाज्ञा बारे थप निर्णय गर्ने छौँ।’