दुई भारतीय दाङबाट स्वचालित पेस्तोलसहित पक्राउ

दुई भारतीय दाङबाट स्वचालित पेस्तोलसहित पक्राउ

स्वचालित (अटोमेटिक) पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। दाङ प्रहरीले पेस्तोलसहित सोमबार साँझ दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर नगरपञ्चायत बढनी–३ का २२ वर्षीय करमुल्लाह आमिर र सोही ठाउँ बढनी–८ का १९ वर्षीय राजा खान रहेका छन्। प्रहरीले उनीहरुको साथबाट सिल्भर कलरको स्वचालित पेस्तोल १ थान, त्यसको २ थान म्यागजिन, २ राउण्ड गोली र ३ थान मोबाइल बरामद गरेको छ।

उनीहरुलाई गढवा गाउँपालिका–१ जुरौलीस्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

हतियार लिएर उनीहरु किन नेपाल प्रवेश गरे भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन । उनीहरु दुवैमाथि हातहतियार तथा खरखजना कसूरमा म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।