महाकाली तुइन प्रकरण : स्थलगत अध्ययनका लागि छानबिन टोली घटनास्थलमा

महाकाली तुइन प्रकरण : स्थलगत अध्ययनका लागि छानबिन टोली घटनास्थलमा

दार्चुला । जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि गँस्कु मालघाट क्षेत्र पुगेको छ । गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो ।    

जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गरेका संयोजक गौतमले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याइने बताए । यस्तै समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थाना पाङ्लामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिने जनाएको छ । 

बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल पश्चात टोली बिहीवार गस्कु गएको हो । टोलीले नेपाल–भारत जोड्ने तुइन लगाएको स्थानीय क्षेत्रको टोलीले अवलोकन गर्नेछ । टोलीलाई गृहमन्त्रालयले १० दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ ।

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट रहेका छन् । 

गत साउन १५ गते ब्याँस गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी दार्चुला सदरमुकाम खलंगा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिदा घट्ना घटेको प्रत्यक्षदर्शीहरुले बताइरहेका छन् ।

बेपत्ता धामी अहिलेसम्म भेट्टिएका छैनन् । भारतीय प्रशासनले जयसिंह धामी बेपत्तामा एसएसबीको संलग्नता नरहेको जनाएको छ ।